विश्वकप फुटबलमा आज चार खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् ।
पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ ।
यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो ।
त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो ।
मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ ।
त्यस्तै, स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया