NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

प्रत्यक्षतर्फ अब यी ११ क्षेत्रको मतपरिणाम आउन बाँकी

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुंगाे लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकिकृत समाजवादी) ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।हालसम्म दोलखा-१, स्याङ्जा-२, सुनसरी-१, ३ र ४, बाजुरा, इलाम-१, उदयपुर-१, महोत्तरी-१ र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा-१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन । सुनसरी-१ मा भने मतगणना जारी छ ।

सुनसरी-३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छिन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् ।

सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन् ।

बाजुराको बूढीनन्दा नगरपालिका-५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम-१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा (एकिकृत समाजवादी) का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छिन् ।

महोत्तरी-१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छिन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छ भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् । (रासस)