कर्णालीले रुचाएन पुराना अनुहार
कर्णाली । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् ।
कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहेका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का छक्कबहादुर लामालाई हराएका हुन् । उनी यसअघिका प्रतिनिधिसभा सदस्यसमेतहुन् । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट रहेका छन् ।
एमालेका संसदीय दलका नेतासमेत रहेका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित भएका छन् । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित छन् । उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत थिए । उनले एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।
यस्तै, दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी भए । उनले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरेका हुन् ।
उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् ।
कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी भए । उनी यसअधि प्रतिनिधिसभा सदस्यसमेत थिए । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरेका हुन् ।
कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहेका छन् । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दै छन् । उनी एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भएका हुन् ।
यस्तै, १ (२) का कृष्ण जिसी पनि नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरे । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गरेका छन् । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१) मा पराजित गरेका हुन् ।
यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी भएका छन् । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरे । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भए । एमालेका कुलबहादुर गिरीलाई पराजित गर्दै शर्मा विजयी बनेका हुन् । सल्यान (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गरे ।
यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित भएका छन् । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गर्नुभएको छ । यस्तै (२) मा राजकुमार शर्मा विजयी भए । उनले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरेका हुन् । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भोगे ।
कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका हुन् । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए ।
हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित भए । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी भएका छन् । उनले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् ।
यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गरे । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया