NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । चुनावी परिणाम अन्तिमतिर पुगेसँगै भावी सरकार बनाउने विषयमा सत्तापक्ष र विपक्षी एमालेका शीर्ष नेताहरुकाे दाैडधुप सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छुट्टा–छुट्टै भेटमा चुनावी समीक्षा, सरकार सञ्चालन, पछिल्लो राजनीतिबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ । शनिबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटवार्तामा अहिलेकै सरकारलाई निरन्तरता दिने विषयमा छलफल केन्द्रीत रहेको थियो । आतबार कांग्रेसका नेता प्रकाशनमान सिंहले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी भावी सरकार गठबनबारे छलफल गरेका थिए ।

यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग छलफल सुरु गरेका हुन् । चुनावी प्रचारमा आफूलाई भावी प्रधानमन्त्रीरूपमा उभ्याएका महामन्त्री गगन थापाले नेताहरूसँग छलफल थालेका छन् ।

निर्वाचनअघि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गरेका प्रचण्डले चुनावी परिणाम प्रतिकुल आएपछि अलमलमा देखिएका छन् । पर्ख र हेरको अवस्थामा रहेका प्रचण्डले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा देखिएका छन् ।

यसैगरी विपक्षी एमालेले पनि आफ्नै नेतृत्वमा सरकार गठन प्रकृया थालेका छन् । प्रतिनिधिसभा सदस्यमा देउवा र प्रचण्ड निर्वाचित भएपछि टेलिफोनबाट बधाई दिँदै उनले मिलेर जान सुझाव दिएका थिए ।