NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यी हुन् सप्तरीका आठ नयाँ निर्वाचित सांसद

सप्तरी । सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । चार प्रतिनिसभा र आठ प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये आठ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् ।

सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बन्दै छन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मतमात्र ल्याए ।

सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादवले चौथो पटकको प्रयासमा संसद् भवनको टिकट पाएका छन् । यसअघि तीनपटक पराजय भोगिसकेका यादवले नेकपा (एमाले) का ताराकान्त चौधरीलाई पराजित गरे।

सप्तरी १ (१) बाट एमाले केन्द्रीय सदस्य राजकुमार लेखी प्रदेशसभा सदस्य बनेका छन् भने सप्तरी १ (२) बाट सकिल मियाँ प्रदेशसभा सदस्य बनेका छन् । मियाँ पहिलोपटक संसदीय चुनावमा होमिएका जनमत पार्टीका उम्मेदवार थिए । उनी जिल्ला विकास समिति सप्तरीको सदस्य रहिसकेका छन् ।

निर्वाचित हुने नयाँ अनुहारमा सप्तरी–२ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह पनि छन् । उनी तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन्। गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार यहाँ पराजित भएपछि लोसपा परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका हुन् ।

सप्तरी–२ (२) बाट जनमत पार्टीका निर्वाचित महेशप्रसाद यादव पनि नयाँ अनुहार हुन्। उनी यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार थिए ।

सप्तरी ३ (२) बाट विजयी जनमत पार्टीकै शम्भुकुमार साह पनि राजनीतिमा नयाँ हुन् । साथै, सप्तरी -४ (२) सदस्यमा पहिलो पटक निर्वाचित स्वतन्त्र उम्मेवार अनिरुद्धकुमार सिंहले नौ हजार नौ सय ८५ मत प्राप्त गरेका छन् ।

यसरी आठ जना नयाँ अनुहार संसद्मा भित्रिँदा जसपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानको संसद् भवन जाने बाटो बन्द भएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वमन्त्री हेमराज तातेड, उमेशकुमार यादव, अनिस अन्सारी, संविधानसभा सदस्य ताराकान्त चौधरी, अशोकुमार मण्डल, निवर्तमान प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव र अभिषेक यादव दोहोरिएर संसद् बन्न सकेनन्।

प्रदेशसभा सदस्यमा एक/ एक स्थानमा जित हासिल गरेका कांग्रेस र नेकपा (समाजवादी केन्द्र) का प्रदेशसभा सदस्यबाहेक सबै नयाँ अनुहार हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष