NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चार पटकको विश्व विजेता जर्मनलाई फापेन कतार वर्ल्ड कप

समूह चरणबाटै आउट

काठमाडौं । फुटबलको सफलतम मुलुकको अग्रपंक्तिमा आउने नाम हो, जर्मन । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप नै उसले चार पटक आफ्नो पोल्टामा पारिसकेको छ ।

सन् १९५४, १९७४, १९९० र २०१४ को वर्ल्डकप च्याम्पियनसिप जर्मनी कतारमा जारी विश्वकपमा उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो । जर्मन टिमले समूह चरणबाटै यस पटकको यात्रा टुंगिने सायदै सोचेको थियो होला । तुलनात्मक रूपमा कमजोर टिमहले नकआउट चरणमा प्रवेश पाइरहँदा जर्मन भने समूह चरणबाट नै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा कोस्टारिकासँग प्रतिस्पर्धा गरेको जर्मनले ४–२ गोल अन्तरको फराकिलो जित निकालेको छ । यो जितपछि अंक तालिकामा जर्मनको चार अंक पुगेको थियो । स्पेनको बराबर अंक हासिल गरे पनि जर्मनको कतार विश्वकप यात्रा टुंगियो ।

स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

समूह ‘इ’बाट जापान र स्पेनले नकआउट चरणमा स्थान बनाए ।

जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २(१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४–२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २(१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३–२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।