पुल माग गर्दा बित्यो १५ वर्ष, अझै हुन सकेन निर्माण
जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन ।
तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशमबहादुर खड्काले बताए ।
लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ । खोला पार गर्न खोज्दा २०७५ सालमा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईंको मृत्यु भएको थियो ।
यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काको भनाइ छ । ‘विसं २०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो । त्यसपछि सांसदहरुलाई पनि पुलका लागि जानकारी गराएका थियौँ’, उनले भने, ‘गाउँपालिकाले छ वर्षदेखि निरन्तर नीति कार्यक्रमयसलाई समेटेको छ तर कार्यान्वयन भने भएको छैन ।’
खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोदकुमार शाहीले बताए ।
उनले भने, ‘पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै एक घण्टा बढी हिँड्नुपर्छ । बाटो अप्ठ्यारो भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन् ।’
व्यापारी पदमबहादुर बुढाले पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको बताउँछन् । खोलामा पानीको वहाव बढी भएको समयमा सामान नै ढुवानी गर्न नसकिने उनको भनाइ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया