गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने

गुजरात । भारतीय जनता पार्टी (भाजपा) का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक गर्ने र गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने भएका छन् ।
भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जीतपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ ।
गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि शनिबार बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ । देसाईले भने, “भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ र गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा गरिनेछ । भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भुपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको सपथ लिन लागेको बताए।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह गान्धी नगरमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने छन् । भाजपाले गुजरातको कुल १८२ सिटमध्ये १५६ सिट जितेको छ । सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको हो ।
गुजरातमा नयाँ चुनावी मैदानमा उत्रिएको आम आदमी पार्टी (आप) ले ५ सिट जितेको छ भने समाजवादी पार्टी (सपा)ले एक सिट जितेको छ । यस्तै तीन जना स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि घाटलोडिया निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार मतको कीर्तिमानी अन्तरले विजय हासिल गर्दै इतिहास रचेका हुन् ।
भाजपाले गुजरातमा २७ एसटी आरक्षित सिटमध्ये २४ सिट जितेको छ, जुन गत चुनावको तुलनामा १२ सिट बढी हो । आदिवासीहरूले पनि ठूलो सङ्ख्यामा भाजपालाई भोट हालेका छन् । सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ९९, काङ्ग्रेसले ७७ र एनसीपी, बीटीपी र स्वतन्त्र उम्मेदवारले क्रमशः १, २ र ३ सिट जितेका थिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया