कालीकोटको मय गाउँ सुक्खा पहिराको जोखिममा
कालीकोट । कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिराको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो ।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिराको जोखिममा परेका छन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वध्यक्ष खड्कराज सेजुवालले बताए।
“तल पहिरो वा सडक केही पनि छैन, पानी पनि परेको छैन, तर जमिन भासिँदै जाँदा ३२ घरधुरी जोखिम बढ्दै गएको छ”, उनले भने, “नयाँ बनेका घरकासमेत पर्खालमा दुई भागमा चिरा परेका छन् ।”
मय गाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिए । “गाउँमा जमिन भासिँदै गएको र पहिराको जोखिम बढ्दै गएको खबर पाएका छौँ”, उनले भने, “त्यहाँका स्थानीय अगुवा तथा प्रहरी गएर बस्ती सुरक्षित स्थानमा सार्न भनिएको छ ।”
गाउँमा पानी पनि नपरेको र अहिले बस्तीमा रहेका घर भासिँदै गएका कारण गाउँमा त्रास फैलिएको स्थानीय रामबहादुर विकले जानकारी दिए। “किन जमिन भासिँदै गएको छ, त्यसको कुनै पत्तो पाएका छैनौँ”, उनले भने, “अहिले पहिरो आउने हो कि भनेर त्रास बढेको छ ।” तत्काल पहिराको जोखिममा रहेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया