टीकापुरमा पानी वितरणमा समस्या
टीकापुर । कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् ।
खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ । नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ ।
पानी २४ सैँ घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्यांकीको व्यवस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् । यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्यांकीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने गरेका छन् ।
‘खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्ने बारेमा खानेपानी संस्थाले ध्यान दिनुपर्छ’, स्थानीय माहन्त साउँदले भने, ‘पाइप काटिँदा अनियमित र फोहर पानी आउने गरेको छ ।’ उनले स्वच्छ खानेपानी नियमित वितरण गर्नेबारेमा संस्था जिम्मेवार हुनुपर्ने बताए ।
पानी नियमित भएको र पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको खानेपानी संस्थाले जनाएको छ । ‘दिनहुँजसो पाइप काटिन्छ, पाइप काटिएपछि काटिएको क्षेत्रमा दुई छाक पानी अवरुद्ध हुन्छ’, खानेपानी संस्थाका प्रमुख चन्द्रप्रकाश सोडारीले भने, ‘पाइप काटिँदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुने गरेको छ ।’
पाइप नकाटियोस् भन्नेबारेमा आफूहरु सचेत भएको भन्दै सोडारीले पाइप जथाभावी गाडेकै कारण निर्माणका काम गर्दा पाइप काटिने गरेको बताए । कार्यालय प्रमुख सोडारीका अनुसार अघिल्ला आर्थिक वर्षमा एक सय ४४ ठाउँमा पाइप काटिएको थियो । ‘पाइप काटिएको रकमबापत रु १४ लाख क्षतिपूर्ति असुल्न बाँकी रहेको छ’, सोडारीले भने, ‘९० सेन्टिमिटर गाड्नुपर्ने पाइप ४८ मिटर त कही त्योभन्दा कम गाडिएको पाइयो ।’
संस्थालाई कसरी दिगोपनमा लैजान सकिन्छ भन्ने योजना बनाएर अघि बढिरहेको सोडारीले बताए। ‘संस्थाको अधिकतम हितका लागि कतिपय अवस्थामा अप्रिय निर्णय पनि लिन जरुरी छ’, सोडारीले भने, ‘खानेपानीको महसुलमा अनावश्यक टीकाटिप्पणी गरेको पाउँछु राम्रो लाग्दैन ।’
नब्बे सेन्टिमिटरमा पाइप गाड्नुपर्ने मापदण्ड भए पनि निर्माण कम्पनीले अधिकांश ठाउँमा मापदण्डअनुसार काम नगरेकै कारण पाइप काटिन थालेको हो । ‘निर्माण कम्पनीले पाइप गाड्दा मापदण्डअनुसार काम नगर्नु भनेको भ्रष्टाचार हो’, खानेपानी संस्थाका सदस्य खड्गबहादुर धामीले भने, ‘खाल्डो खन्ने रकम निर्माण कम्पनीले बचाएको प्रष्ट हुन्छ । अर्कोतर्फ पाइप जथाभावी गाडेको रहेछ ।’ निर्माण कम्पनीले काम गर्दा धेरै अनियमितता गरेको देखिन्छ भन्दै धामीले बिग्रेको काम सुधार्नमै हामी लागेका छौं उनले भने ।
अहिलेसम्म दुई सय ५९ किलोमिटर पाइप बिछ्याइएको छ । लागत अनुमानमा एक सय ९६ किलोमिटर पाइप जोड्ने योजना भए पनि ६२ किलोमिटर थप पाइप विस्तार गरिएको छ । आठ हजार चार सय १३ धारा जडान गर्ने लक्ष्यअनुसार संस्थाले सात हजार छ सय धारा जडान गरेको छ । सन् २०३८ सम्ममा यो योजनाबाट २० हजार घरधुरीलाई पानी वितरण गर्न सकिने छ ।
संस्थाले वार्षिक रु एक करोड २१ लाख सावाँ ब्याज गरेर ऋण तिर्दै आएको छ । पुस र असार मसान्त गरी वर्षको दुई पटक किस्ता बुझाउनुपर्छ । संस्थाले रु १४ करोड २६ लाख ऋण भुक्तानी गर्न बाँकी छ । अहिलेको आम्दानीले सञ्चालन खर्च पुगेको भए पनि भविष्यमा आइपर्ने समस्या थेग्न सक्ने अवस्था नभएको संस्थाका अध्यक्ष नरेशकुमार खत्रीले बताए ।
‘पम्प, क्यानल, भल्ब र मेसिन पुराना हुँदै जाने त्यसका लागि मर्मत खर्च आवश्यक पर्छ भने कतिपय सामान अर्को बदल्नुपर्छ त्यसका लागि पनि थप रकम आवश्यक पर्छ’, अध्यक्ष खत्रीले भने, ‘शुल्कका बारेमा अनर्गल प्रचार हुन्छ, खर्च धान्ने भनेकै शुल्कबाट हो, अरु आयस्रोत केही हुँदैन ।’ उनले संस्थाको दिगोपनका बारेमा उपभोक्ता पनि सचेत हुनुपर्छ भने। खत्रीले निर्माणका क्रममा पाइप धेरै टुटफुट भइरहेका छन् जुन चिन्ताको विषय हो भने ।
खानेपानी विभागले अटोमेटिक भल्ब सिस्टमका लागि उपकरण अनुदान दिने भएको छ । उपकरण खरिदका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ । टीकापुरका चारवटै ट्यांकीमा फिल्टर जडान गरिएको छ । फिल्टरले छानेर पानी वितरण गर्दा पनि कतिपय अवस्थामा उपभोक्ताले लेदो पानी आयो भनेर गुनासो गर्ने गरेका छन् त्यसको कारण एउटै पाइप काटिनु हो ।
यसरी पाइप काटिनबाट जोगाउनलाई खानेपानी संस्थाले प्रत्येक ब्लकमै उपसमिति गठन गरेर चेतना जगाउने काम गर्न थालेको छ । ५३ करोड लागतमा निर्माण भएको खानेपानी योजनालाई स्तरोन्नतिका लागि भनेर थप तीन करोड बजेट उपलब्ध गराइएको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया