NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

चेपे ‘ए’ जलविद्युतको पावर हाउस आगजनीमा सहभागीलाई कारबाही गर्न इप्पानको माग

काठमाडाैं । चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत आयोजनाको पावर हाउसमा गरेको आगजनी घटनामा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले घोर भत्र्सना गरेको छ । साथै इप्पानले आगजनी घटनामामा संलग्न हुने सबैलाइ कारबाहीको माग राखेको छ ।

इप्पानका अनुसार आयोजनाको पावर हाउसमा किसानहरूले आगजनी गरिदिएका हुन् । गत शनिबार ७ मेगावाटको चेपे ए जलविद्युत आयोजनाको साइट अफिस एवम् पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालय समान र सवारी साधन तोडफोड र आगजनी गरिएको हो ।राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीका कारण उक्त घटना घटेको हुनसक्ने इप्पानले  आशंका गरेको छ .

विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको ईप्पानले जनाएको छ ।

‘यस प्रकारका आपराधिक गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुनुको साथै समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ’ इप्पानले भनेको छ,‘ तसर्थ परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने ब्यवस्था मिलाउन ईप्पान सरकारसँग जोडदार माग गर्दछ ।’ इप्पानद्ववारा जारी विज्ञप्तिमा भनिएको छ ।