विदेशी लगानी प्रस्ताव ९४ प्रतिशतले घट्यो

काठमाडाैं । कोभिड महामारी, रुस–युक्रेन द्वन्द्वलगायत कारणले विश्व अर्थतन्त्रमा मन्दी छाएपछि नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रभावित भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर) मा गत वर्षको सोही अवधिको तुलनामा विदेशी लगानीको प्रस्ताव ९३.८१ प्रतिशतले घटेको छ ।
उद्योग विभागमा पछिल्लो पाँच महिनामा विभिन्न देशका लगानीकर्ताबाट १२ उद्योग–परियोजनामा एक अर्ब ८५ करोड लगानी गर्ने प्रस्ताव आएको छ । जबकि, गत वर्षको सोही अवधिमा विदेशी लगानीकर्ताबाट एक सय १२ कम्पनीमा २९ अर्ब ९५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
चालू आवमा १३ असोजपछि विदेशी लगानीको कुनै प्रस्ताव आएको छैन । विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा पनि संकटका किरणहरू देखिन थालेपछि स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित भएका हुन् । देशभित्र सुलभ ब्याजदरमा सहज ‘फाइनान्सिङ’ सुविधा उपलब्ध नभएसम्म स्वदेशी लगानी मात्र होइन, विदेशी लगानी पनि नआउने व्यवसायी बताउँछन् ।
बैंकमा तरलता संकट, चर्को ब्याजदर, मूल्य वृद्धि, उद्योग तथा व्यवसाय क्षेत्रको मागमा ह्रासलगायत समस्याहरू अर्थतन्त्रमा देखिएका छन् । पछिल्लो समय निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योग, रियल इस्टेट, अटोमोबाइल, सेयर बजार नराम्रोसँग थलिएको छ भने उपभोग्य वस्तुको मागसमेत घटेको नेपाल उद्योग परिसंघको अध्ययनले देखाएको छ । भएकै उद्योग–व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेका वेलामा नयाँ लगानी आकर्षित हुने सम्भावना नरहेको व्यवसायी बताउँछन् ।
यस वर्षको पहिलो पाँच महिनामा कृषि तथा वन क्षेत्र र ऊर्जामूलक परियोजनामा विदेशी लगानीको प्रस्ताव आएको छैन । यस अवधिमा सूचना प्रविधि क्षेत्रमा एक परियोजनामार्फत पाँच करोड, उत्पादनमूलक एउटा उद्योगमा १० करोड, सेवा क्षेत्रका सात प्रोजेक्टमा एक अर्ब ४० करोड र पर्यटनका तीन प्रोजेक्टमा ३० करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
यी उद्योग सञ्चालनमा आउँदा सात सय ८१ जनाले रोजगारी पाउनेछन् । गत वर्षको यसै अवधिमा कृषि तथा वन क्षेत्रमा ६० करोड, ऊर्जामूलक परियोजनामा पाँच करोड ६२ लाख, सूचना प्रविधिको क्षेत्रमा ४० करोड, उत्पादन क्षेत्रमा तीन अर्ब २४ करोड, सेवा क्षेत्रमा १६ अर्ब १० करोड र पर्यटन क्षेत्रमा नौ अर्ब ५५ करोड ४० लाख रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको थियो । कुल एक सय २२ परियोजना सञ्चालनमा आउँदा सात हजार सात सय ७५ जनाले रोजगारी पाउने प्रतिबद्धता थियो ।
चालू आवमा उद्योग विभागले विदेशी लगानीका १२ परियोजनालाई लगानीको स्वीकृति दिएको छ । जसमध्ये बंगलादेशबाट तीन परियोजनामा २० करोड, चीनबाट पाँच परियोजनामा ५० करोड, सिंगापुरबाट दुई परियोजनामा एक अर्ब २७ करोड तथा भारत र स्पेनबाट एक–एक परियोजनामा १५ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् ।
चिनियाँ लगानीका सफ्टवेयर, दुईवटा होटेल–रेस्टुरेन्ट र दुईवटा इन्टरनेसनल कार्गो ह्यान्डलिङ कम्पनी रहेका छन् । बंगलादेशी लगानीका इन्टरनेसनल कार्गो ह्यान्डलिङ उद्योग, रेडिमेट गार्मेन्ट उद्योग र एडभरटाइजमेन्ट सर्भिस उद्योग रहेका छन् । सिंगापुरको लगानी पनि कार्गो ह्यान्डलिङ सेवामै आउने भएको छ । यस्तै, कन्स्ट्रक्सन क्षेत्रमा पनि सिंगापुरे कम्पनीले लगानीको स्वीकृति पाएको छ । इन्डियन लगानीमा आन्तरिक क्लियरेन्स डिपो सञ्चालन र स्पेनिस लगानीमा होटेल तथा रेस्टुरेन्ट सञ्चालनको प्रस्ताव आएको छ । (नयाँपत्रिकाबाट)
प्रतिक्रिया