पुस ५ गतेदेखि नारायणगढ-मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने
चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।
भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।
काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडाैंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ ।
बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया