नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् ।
आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुंगा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ ।
उनले भने, ‘कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ ।’ घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो । समय थपका लागि फाइल विभागमा पठाइएको कार्की बताउँछन् । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो ।
चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आगामी पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ । सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ । भौगोलिकरुपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको हो ।
कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्को चुनौती छ । त्यहाँबाट हटाउँदै गर्दा घरटहरामा बसोबास गर्नेलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने हुन्छ । जसका लागि रु एक करोड बजेट माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ ।
असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उहाँ बताउनुहुन्छ । तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ । तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो ।
हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् ।
प्याकेज–१ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख छ । पुल र नक्साङ्कनका लागि मात्र रु ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम रु ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि रु ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो ।
दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया