दिनभर यात्रुलाई दुःख दिएको निगमले साँझमा उडान सुरु गर्यो

काठमाडौं । बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनःसञ्चालन भएको छ ।
दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि आज बिहानदेखि अवरुद्ध उडान भर्खरै सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन ।
उनका अनुसार बुधबार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने आज बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन । “हिजो दिउँसोदेखि नै उडान अवरुद्ध भएको थियो, निर्धारित उडान राति मात्रै भएको थियो । आज बिहानैदेखि उडान हुनसकेको थिएन ।
सहमतिपछि केहीबेर अघिबाट उडान सञ्चालन भएको छ”, प्रवक्ता खड्काले भनिन् । राति ८ बजेपछि भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ ।
निगममा कार्यरत सबै क्याबिन क्रु को करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् । करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई बीना कारण करार नवीकरण नगरी सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए ।
नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया