NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाडाैं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सात वटै प्रदेशका प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगले आज दिउँसो प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सातै प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाउन प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा टोली पुगेको थियो ।

ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ ।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० गरी ५ सय ५० जना निर्वाचित भएका छन् । आयोगले अन्तिम परिणम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुलेको छ । आयोगले यसअघि नै प्रतिनिधिसभातर्फको निर्वाचन परिणम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो ।