नारायणगढ–मुग्लिङ सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।
सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।
आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ ।
भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए ।
उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ ।
चार वटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ ।
उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।
नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ ।
काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।
काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।
बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा रु एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया