NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३० गते

नेपालको सार्वजनिक व्यवस्थापनमा व्यवस्थापकीय मूल्य र मान्यताको प्रयोगको अवस्था

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालले नेपालको सार्वजनिक व्यवस्थापनमा व्यवस्थापकीय मूल्य र मान्यताको प्रयोगको अवस्थाबारे प्रश्नमा समाधान सुझाउनुभएको छ ।

सार्वजनिक व्यवस्थाका आधारभूत मूल्यहरू उल्लेख गर्दै नेपालको सार्वजनिक व्यवस्थापनमा व्यवस्थापकीय मूल्य र मान्यता प्रयोगको अवस्था उल्लेख गर्नुहोस्।

सार्वजनिक व्यवस्थापनका मूल्यहरू

सार्वजनिक हितका लागि उपलब्ध स्रोतसाधनको कुशलतापूर्वक सञ्चालन गरी नतिजा प्राप्तिमा केन्द्रित व्यवस्थापकीय कौशल नै सार्वजनिक व्यवस्थापन हो भने सार्वजनिक व्यवस्थापनको लागि नभई नहुने अन्तर्निहित चरित्र तथा मापदण्ड नै सार्वजनिक व्यवस्थापनको मूल्यहरू हुन। यस्ता मूल्यहरूलाई देहाय अनुसार उल्लेख गरिएको छ।

आधारभूत मूल्यहरू(POSDCoRB)

योजना(Planning): SMART योजना व्यवस्थापनको मुख्य मूल्य हो। योजना विशिष्ट (Specific), , मापनयोग्य (Measurable), प्राप्त गर्न सकिने (Achievable), यथार्थपरक (Realistic) र समयबद्ध (Timely) हुनुपर्छ।

सङ्गठन (Organizing): चुस्त र छरितो सङ्गठन। Less Government but More Governance. कार्यात्मक सङ्गठन हुनुपर्छ।

कर्मचारी (Staffing): सक्षम, दक्ष र विज्ञ कर्मचारीको प्राप्ति, विकास, उपयोग र सम्भार। प्रतिभा व्यवस्थापन, उत्प्रेरित, अनुशासित, व्यावसायिक र नैतिकवान् कर्मचारी हुनुपर्छ।

निर्देशन (Directing):   दूरदर्शी तथा उदाहरणीय नेतृत्व, प्रजातान्त्रिक कार्यशैली, उद्देश्य प्राप्तिमा केन्द्रित निर्देशन, सुपरिवेक्षण तथा निरीक्षण गर्नुपर्छ।

समन्वय (coordinating): तहगत, निकायगत तथा कार्यगत समन्वय। समन्वय र सहकार्यको कार्य संस्कृति। नागरिकको सार्थक सहभागिता। अन्य सरोकारवाला पक्षहरूसँगको सहकार्य गर्नुपर्छ।

प्रतिवेदन (Reporting): आन्तरिक तथा बाह्य प्रतिवेदन। पारदर्शी कार्य संस्कृति। कार्यसम्पादनको सार्वजनिकीकरण गर्नुपर्ने।

बजेट (Budgeting): स्रोतको पर्याप्तता। न्यायोचित वितरण। कुशल एवं विवेकपूर्ण ढङ्गले उपयोग। विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन कायम गर्नुपर्ने।

कार्यगत मूल्यहरू

  •  कार्यसम्पादनमा जिम्मेवार एवं उत्तरदायी कार्य संस्कार,
  •  मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र Value for Money,
  •  व्यावसायिकता र नैतिकता,
  •  समन्वय र सहकार्य,
  •  पारदर्शिता, खुलापन र नागरिक संलग्नता,
  •  लोकतान्त्रिक मूल्य मान्यताको पालना,
  •  नवप्रवर्तन, अध्ययन, अनुसन्धान र विकास,
  •  प्रणालीगत कार्यसम्पादन,
  •  निरन्तर अनुगमन, सुपरिवेक्षण, निरीक्षण एवं मूल्याङ्कन।

सार्वजनिक व्यवस्थापनमा व्यवस्थापकीय मूल्य र मान्यता प्रयोगको अवस्था

सार्वजनिक व्यवस्थापनको माथि उल्लिखित आधारभूत एवं कार्यगत मूल्य मान्यताहरूलाई नेपालको सार्वजनिक व्यवस्थापनमा पूर्ण रूपमा प्रयोग गर्न नसके पनि केही हदसम्म आत्मसात् गरिएको छ। जसलाई देहाय बमोजिम उल्लेख गरिएको छ।

  • SMART योजनास् आयोजना बैङ्क तथा मध्यकालीन खर्च संरचनाको अभ्यासको थालनी।
  • चुस्त र छरितो सङ्गठन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, सार्वजनिक संस्थानको निजीकरण, कर्मचारीको सङ्ख्या कटौती, Online Based सङ्गठन।
  •  सक्षम र दक्ष जनशक्तिको प्राप्ति विकास र उपयोगस् लोक सेवा आयोगबाट भर्ना तथा छनौट, विशिष्टीकृत तालिम प्रदायक संस्थाहरूको विकास। समय समयमा कर्मचारीको तालिम, भिजिट, एक्सपोजर।
  •  समन्वय र सहकार्यात्मक कार्यसंस्कृतिः सम्पर्क निकाय तोकिएको। निजी क्षेत्र, गैरसरकारी क्षेत्रहरूसँग सहकार्यमा कार्य गर्ने प्रचलन सुरु भएको। जस्तो फोहोर मैला व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम। यद्यपि प्रभावकारी हुन नसकेको।
  •  निर्देशन र नियन्त्रणस् अधिकार प्रत्यायोजन, बजेट सीमा, विभिन्न विषयसँग सम्बन्धित मापदण्डहरू जस्तो खर्च मापदण्ड, समीक्षा, बैठक छलफल कार्यक्रम।
  •  सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता, नागरिक संलग्नता तथा प्रभावकारिता ल्याउन गुनासो सुन्ने अधिकारी, गुनासो सुनुवाइ संयन्त्र, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, घुम्ती सेवा केन्द्र, एकल विन्दु सेवा केन्द्रको व्यवस्था, नागरिक बडापत्रको व्यवस्था तथा कार्यसम्पादन सम्झौता जस्ता कार्यहरू हुँदै आएका छन्।
  •  प्रणालीगत सेवा प्रवाहको लागि विद्युतीय भुक्तानी प्रणाली, हेलो सरकार, Action Room, नागरिक एप, Network Expand जस्ता प्रविधिमैत्री प्रणालीहरूको विकास गरिएको छ।
  •  समुदाय प्रहरी साझेदारी, सामुदायिक वन विकास कार्यक्रम, महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम जस्ता सरोकारवाल वर्गको सार्थक संलग्नता हुने कार्यक्रम सञ्चालनमा छन्।

माथि उल्लिखित व्यवस्था हुँदाहुँदै पनि व्यवस्थापकीय पक्ष कमजोर रहेको छ। SMART योजना तयार हुन सकेका छैनन्। सङ्गठन निर्माण गर्दा One Size Fit all, दोहोरो सङ्गठन तथा कामका लागि भन्दा पनि व्यक्तिका लागि सङ्गठन स्थापना हुने प्रवृत्ति यदाकदा कायम रहेको छ। Right Man in Right Place हुन सकेको छैन। तालिम व्यवहारिक भन्दा सैद्धान्तिक पक्षमा केन्द्रित रहेको छ। समन्वय, सहकार्य र पारदर्शी कार्यसंस्कारको अभाव छ। जिम्मेवारी र जबाफदेहिताको वहन गर्ने परिपाटीको विकास भएको हुन सकेको छैन।

निष्कर्ष

सार्वजनिक व्यवस्थापनका लागि नभई नहुने विषय यसका मूल्यहरू हुन। नेपालमा सार्वजनिक व्यवस्थापनको मूल्यहरूलाई पूर्णरूपमा आत्मसात् नगरिएको सन्दर्भमा सोलाई पूर्ण कार्यान्वयनमा ल्याई सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउनु आवश्यक छ।

लाेकसेवा सम्बन्धी सम्पूर्ण समाग्रीका लागि