NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

रोजेको मन्त्रालय लिन देउवाले अफर गर्दागर्दै प्रदीपले किन रोजे गगन ?

काठमाडौं । संसदीय दलको नेताको उम्मेदवारी दिएका महामन्त्री गगन थापाको समर्थक नै बसेर युवा नेता प्रदीप पौडेलले सबैलाई ‘सरप्राइज’ दिएका छन् । एक वर्षअघि भएको पार्टी महाधिवेशनमा उनी नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा उनी काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसयता प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचनमा आफूलाई सघाउन पौडेललाई निरन्तर आग्रह गरिरहेका थिए ।

स्रोतका अनुसार देउवाले अब बन्ने सरकारमा ‘रोजेको मन्त्रालय दिने’ अफरसमेत गरेका थिए । दुई युवा महामन्त्री एक ठाउँ उभिएका वेला प्रदीप आफूसँग हुँदा माहोल थप सहज हुने देउवाको बुझाइ थियो । तर, प्रदीप रोजेको मन्त्रालयको अफर त्यागेर पार्टीभित्र पुस्तान्तरणको पक्षमा उभिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।