NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चिडियाखाना निर्माणमा युनाइटेड क्लबको ५९ लाख सहयोग

लेखनाथ । युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको पोखरा–१० अमरसिंह चोकस्थित युनाइटेड क्लबले चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार सहयोग प्रदान गरेको छ ।

विसं २०६७ मा स्थापना भएको क्लबले पोखराको अमरसिंह चौरमा ११ वर्षदेखि प्रत्येक वर्ष सञ्चालमा ल्याइएको पोखरा महोत्सवबाट हुँदै आएको मुनाफा पोखरा लेखनाथस्थित पचभैयामा विकास हुँदै गरेको चिडियाखानालाई सहयोग गर्दै आएको हो ।

पर्यटकीय नगरी पोखरामा सरकारी तवरबाट मानव निर्मित खुल्ला चिडियाखानाको निर्माण हुनुपर्छ भन्ने अवधारणा ल्याएको उक्त क्लबले प्रत्येक वर्ष हुने महोत्सवको मुनाफामध्ये सबैजसो रकम चिडियाखाना निर्माणका लागि छुट्याउँदै आएको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

क्लबकै अवधारणाअनुसार नेपाल सरकारले पोखरा महानगरपालिका–३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वनको एक सय ३४ हेक्टर क्षेत्रफलको जमिनमा विसं २०७२ साउन १५ गते शिलान्याससमेत गरिसकेको छ ।

उक्त चिडियाखानालाई गण्डकी प्रदेश सरकारले अहिले प्रदेशको गौरवको योजनामा राखी जिल्ला डिभिजन वन कार्यालयमार्फत निर्माण कार्यलाई अगाडि बढाइरहेको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

उक्त क्लबले यस वर्ष पुस २७ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गर्न लागेको पोखरा महोत्सवबाट हुने मुनाफा पनि सामाजिक कार्यमा नै खर्च गर्ने जनाएको छ । महोत्सवकै बारेमा जानकारी दिने उद्देश्यले क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यस वर्ष महोत्सवको मुनाफाले कवि शिरोमणि पौड्यालको जन्मस्थल अघौँ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनका

लागि आवासीय छात्रावास निर्माण सुरु गर्ने जानकारी दिए । गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि १२ वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरी क्लबले विद्यार्थीलाई सहयोग गर्दै आएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । ‘छात्रवासमा सुरुमा बीसदेखि २५ जनालाई राखिने छ । उनीहरूलाई क्लबले निःशुल्क पढाउने व्यवस्था गर्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद क्षेत्रको विकासमा क्लबले आफ्नो क्षेत्रबाट सहयोग गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन योगदान गर्ने हो ।’

पत्रकार सम्मेलनमा महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा क्लबका महासचिव दिनेश सुनारले यस वर्ष हुने ११ औँ संस्करणको पोखरा महोत्सवमा सर्वसाधारणको प्रवेश शुल्कबाट प्रतिटिकट रु एक छुट्याई पोखराको बीच भागबाट बग्ने सेती नदीको खोँचलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए ।

दुई लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ । दुई सय ५८ स्टल रहने उक्त महोत्सवमा दश करोड बराबरको कारोबार हुने अनुमान पनि क्लबले गरेको छ । महोत्सवमा पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने संस्था तथा व्यक्तिलाई निःशुल्क र कृषि तथा हस्तकलाका सामग्रीका स्टललाई विशेष छुट गरिने जानकारी पनि उक्त अवसरमा दिइएको छ ।

पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखराको स्थापित युनाइटेड क्लबले सरकारले गर्न नसकेका काम गरेर समाजमा उदाहरणीय बनेको बताए । महोत्सवको उद्देश्य, कला संस्कृति, वेशभूषा, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सूचना प्रविधि, पर्यटकीय स्थान तथा सम्भावित स्थानको प्रचारप्रसार, स्थानीय तथा औद्योगिक उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने, कलाकारको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने, आर्थिक चलायमान तथा रोजगारी सिर्जना गर्नुरहेको जानकारी क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले दिर्ए ।

महोत्सवका आकर्षणका रूपमा उद्यमीबीच अनुभव साटासाट, एकअर्का बीच विचारविमर्श, व्यवसायी सदस्यबीच रहेका आफ्ना ज्ञान, सीप, क्षमता अभिवृद्धि, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डको लाइभ कन्सर्ट, हास्य व्यङ्ग्य प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कार, बाल उद्यान, प्रदेशस्तरीय लोकदोहोरी गीत तथा, झाँकी प्रतियोगितालगायतका रहेको जानकारी सो अवसरमा बताइएको छ ।