स्ववियु निर्वाचन गर्ने मनस्थितिमा त्रिवि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ ।
आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
आज त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचनका सम्बन्धमा छलफल भएको हो ।
खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले छलफलमा स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना निर्वाचन अघिसक्ने र स्नातक तेस्रो तथा चौथो वर्षको नतिजा प्रकाशन र निर्वाचनलाई असर पार्ने गरी कुनै पनि परीक्षा तालिका सार्वजनिक नगर्ने भएको बताए । छलफलमा विभिन्न सङ्काय र संस्थानका डीनहरू, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रकको उपस्थिति थियो ।
“स्ववियु निर्वाचनको सम्बन्धमा हामीबीच सहमति भएको छ”, उनले भने, “अब विद्यार्थी सङ्गठनसँग छलफल गरेर मिति सार्वजनिक गर्दछौँ ।”
आजको बैठकको समझदारीअनुसार यही पुस ११ गते (सोमबार) सम्पूर्ण विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्षसहितको बैठक बोलाइएको उनले जानकारी दिए ।
विद्यार्थीसँगको छलफल गरेर विद्यार्थी कल्याण निर्देशनालयमा मिति पेश गर्ने र निर्देशनालयले त्रिवि कार्यकारी परिषद्मा मिति सिफारिस गर्नेछ । त्यसपछि त्रिवि कार्यकारी परिषद्ले मिति घोषणा गर्ने उनले बताए । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन ।
विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया