NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

पूर्वमन्त्री तथा बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौं । पूर्वमन्त्री तथा वायु सेवा कम्पनी बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै संस्थाले एक असल अभिभावक गुमाएको लेखेको छ ।

‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई हामी बुध्द एयरकर्मी सधैं अनुशरण गरी अगाडि बढ्ने छौं । हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन,’ बुद्ध एयरले लेखेको छ ।

भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत आफ्नो जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा गरेका थिए ।

उनी पूर्वमन्त्री, सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत हुन् । बस्नेत २०२४ सालमा कानुन तथा न्याय, शिक्षा मन्त्री र २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।

बुद्ध एयरलाई उनै बस्नेतले आजभन्दा २५ वर्षअघि स्थापना गरेका थिए । जतिबेला उनी ७० वर्षका थिए ।

दिवंगत बस्नेतका २ छोरा र १ छोरी छन् ।

ताजा अपडेट

नेपालवाच विशेष