NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

तुलसीपुर । दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहेकी थिइन् । छोराको गाडीको ठक्करबाट मृत्युपछि उनी बिरामी पर्दै आइरहेकी थिइन् । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार ग-यो ।

आश्रमले उद्धार गरेर उपचारपछि अहिले उनी मानसिकरूपमा स्वस्थ हुँदै गएकी छन् । ‘म घर छाडेर हिँडिरहेको अवस्थामा उहाँहरूले देखेर ल्याउनुभएछ, ल्याएको पनि मैले थाहा पाइनँ’, उनले भनिन्, ‘अहिले म सबै थाहा पाउने भएकी छु ।’

त्यस्तै तुलसीपुर–१२ जसपुर निवासी जयसरा भण्डारी पनि भौँतारिएर हिँडिरहकी थिइन् । त्यही क्रममा आश्रमले उद्धार गरेर अहिले एक वर्षदेखि आश्रय दिइरहेको छ । यस्तै थुप्रै मानसिक रोगी, साहाराविहीन, सुस्त मनस्थिति भएकालाई उद्धार गरेर उपचार तथा पालनपोषण गर्दै आएको छ ।

संस्थाका शाखा प्रमुख सिर्जना अधिकारीका अनुसार यसरी बेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनःमिलन गराउने कार्य गर्दै आइरहेको बताइन् । उनका अनुसार अहिलेस्म्म २० भन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको छ ।

‘हामीले ल्याएर उपचार गर्छौं, खाना, बास दिन्छौं’, उनले भनिन्, ‘सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौं, सोहीअनुसार अहिलेसम्म २०–२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ । ’ पुनःमिलनपछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उनको भनाइ छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको शाखा प्रमुख अधिकारीले बताइन् । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेको प्रमुख अधिकारीले बताइन् । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उनले बताइन्। उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगी दातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख अधिकारीको भनाइ छ । अहिले तुलसीपुर शाखामा दुई जना केयरगिभर, एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई नर्स सहयोग गरेको छ । आश्रमको १६ जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष