NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बिनानिष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता साझेदारीको विषयलाई लिएर आइतबार बसेको सत्तागठबन्धन दल बैठक विनानिष्कर्ष टुंगिएको छ । निर्णायक भनिएको आजको सत्तासाझेदार दल कांग्रेस र माओवादीबीच भागबण्डामा कुरा नमिलेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि बसेको गठबन्धनको बैठकमा पहिलो चरणमा को प्रधानमन्त्री भन्ने विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमतिका प्रयास भएपनि निष्कर्षमा पुग्न नसकेको सरकारका प्रवक्तासमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका साँझ पुनः गठबन्धनको बैठक बसेर सहमतिको अन्तिम प्रयास गरिने उनले बताए ।

‘आजको विषयमा सत्ता साझेदारको विषयमा हामीले गम्भीर छलफल गर्यौं । गठबन्धन दलहरूबीच सहमतिको प्रयास भएपनि कुनै निष्कर्षमा पुग्न सकिएन । आन्तरिक तयारी गरेर पुन : बैठक बस्ने निर्णय भएको छ ’, कार्कीले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको अन्तिम समयसीमा आइतबार साँझ ५ बजे नजिकिनै लाग्दा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत सत्तागठबन्धन दलका नेता निर्णायक छलफलमा जुटेका थिए । तर बैठक सकारात्मक नदेखिएपछि माओवादीका अध्यक्ष प्रचण्ड बैठककोबीचमै बाहिरिएका थिए ।

उनी बाहिरिएपछि कांग्रेस र नेकपा एसका शीर्ष नेताहरू छलफलमा व्यस्त थिए । तर केही समय बसेपछि माधव नेपाल र झलनाथ खनाललगायत नेताहरूसमेत बाहिरिए । बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि सहभागि थिए । यसैगरी माओवादीबाट प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ र नेकपा एसबाट नेपाल, खनाल लगायत नेताहरू सहभागी थिए ।