NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते
मुख स्वस्थ भए ९० प्रतिशत रोग लाग्दैन

‘मुख स्वस्थ नहुँदा मुटु रोगदेखि क्यान्सरसम्मका समस्या’

काठमाडौं । स्वस्थ र सुन्दर दाँत सबैको चाहना हुन्छ । खानेकुरा चपाउन मात्र नभई सौंन्दर्यका लागि पनि दाँत उत्तिकै महत्वपूर्ण छ । व्यक्तिको व्यक्तित्वमा दाँतले प्रभाव पारेको हुन्छ । यद्यपि, दाँतसम्बन्धी समस्याबाट धेरै मानिस पीडित छन् । दाँत खिइने, टुक्रिने, किरा लाग्ने, श्वास गन्हाउने, गिजाबाट रगत आउने जस्ता समस्याले धेरै मानिलाई सताउने गर्छ । तर समयमै दाँतको हेरचाह र सरसफाइमा ध्यान दिएको खण्डमा यस्ता समस्याबाट छुट्कारा पाइने चिकित्सक बताउँछन् ।

जसको दाँत सबल, उसको जीवन सफल

सुन्दर र स्वस्थ दाँतका लागि मुख स्वस्थ हुन जरुरी छ । यसले समग्र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । मानिसका हरेक गतिविधि मुखले नै गर्ने गर्छन् । व्यक्तिको मुख नै उसको प्रमुख द्वार र ऐना भएको डा.सुबास घिमिरे बताउँँछन् । यसले शरीरमा भएको रोगलाई बाहिर देखाउने गर्छ । शरीरको द्वार अर्थात् मुख सफा र स्वस्थ भएमा पेट त्यसै स्वस्थ हुने गर्छ । त्यसैले मुख स्वस्थ रहे शरीरमा ९० प्रतिशत रोग नै नलाग्ने उनी बताउँछन् । ‘मुख स्वास्थ्यको हेरचाह र नियन्त्रण गर्दा समस्या नै हुँदैन,’ उनले भने, ‘यसले झण्डै ९० प्रतिशत रोग लाग्दैन’ ।

मुख स्वस्थ राख्न स्केलिङ

मुख सफा भएमा मात्र मुख स्वस्थ रहन्छ । त्यसैले यसको सफाई महत्वपूर्ण छ । मुखमा हुने धेरै समस्याको जड दाँतमा भएको फोहोर नै हो । दैनिक दाँत सफा गर्न सके दाँतको रोग नै नलाग्ने डा.घिमिरेको भनाइ छ । मुखलाई सफा राख्न स्केलिङको भूमिका अपरिहार्य छ । मेसिनको सहायताले चिकित्सको परामर्शमा गरिने दाँतको सफाई नै स्केलिङ हो ।

आवश्कता अनुसार स्केलिङ सबैले गर्न सकिने उनी बताउँछन् । डा. घिमिरेको बुझाइमा स्केलिङ गर्न चिकित्सकसमक्ष नै जानु पर्छ भन्ने छैन । घरमै राम्रोसँग दाँत माझ्न र मुख सफा हुने खानेकुरा खान सकेमा स्केलिङ नै गर्नु नपर्ने उनले बताए । मुख सफा भएमा दाँतमा देखिने यस्ता विविध समस्याबाट छुटकारा पाउन सकिन्छ । स्केलिङ गर्दा दाँतमा थप समस्या आउने धेरैको बुझाई छ । तर यसले दाँत कमजोर नभई थप बलियो बनाउने उनको भनाई छ । उनका अनुसार स्केलिङ गरेर दाँत बिग्रने, झर्ने, हल्लिने हुँदैन् यो एक प्रकारको डर हो ।

खानेकुरा र मुखको सम्बन्ध

व्यक्तिले खाने खानेकुरा नै उसको ब्रस हो । दाँत स्वस्थ र सफा हुन खानेकुराको प्रमुख भूमिका हुन्छ । मुख र दाँत स्वस्थ राख्न प्राकृतिक खानेकुरामा जोड दिनुपर्ने डा. घिमिरे बताउँछन्, जसले मुख र शरीर दुवैलाई सफा गर्छ । मुख स्वास्थको लागि चिनीजन्य, प्याकेजिङ तथा प्रशोधित खानेकुरा त्याग्न आवश्यक छ । हामीले खाने आहार गुणस्तर भएमा शरीरमा औषधी नै नचाहिने उनको तर्क छ ।

मुख स्वस्थ नहुँदा रोगै रोग

मुख तथा दाँत स्वस्थ र सफा नहुँदा यसले शरिरमा घातक रोगसमेत निम्त्याउन सक्छ । मुख सफा नगर्दा मुखमा भएका ब्याक्टेरिया तथा किटाणु घाँटीको माध्यमले शरीरमा प्रवेश गर्छ । जसले मुटु, पेट, मृगौला, निमोनिया, क्यान्सर, तथा फोक्सोसम्बन्धी समस्या देखिन सक्ने डा. घिमिरे बताउँछन् । उनकाअनुसार मुख स्वास्थमा ध्यान नदिँदा धेरै मानिस यस्ता रोगका शिकार बनेका छन् ।

दाँत खिइने र टुक्रिने समस्या

लामो समय बजारमा पाइने आयुर्वेदिक मञ्जन तथा पाउँडरको प्रयोग यसको कारण हो । दाँत खिँइनेमा यसले मद्दत गर्छ । यसैगरी अर्को कारण दाँत माझने विधि थाहा नपाएर हो । दाँत माझने आफ्नै विधि र तरिका छन् । धेरै व्यक्तिलाई ब्रस गर्ने तरिका थाहा छैन । अज्ञानताका कारण पनि दाँत घोटिने समस्या हुन्छ । यसैगरी दाँत टुक्रिने समस्या भनेको कडा खानेकुरा खाएर तथा दाँत ठोकिएर हुनेगर्छ । कोही व्यक्तिको राति निन्द्रामा दाँत चलाउने बानी हुन्छ । यस्ता गतिविधिले पनि दाँतमा समस्या आउने गर्छ ।

यससम्बन्धी विस्तृत जानकारी तलको भिडियो लिंकमा हेर्न सक्नुहुनेछ :