NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

१५ वर्षमा एसएलसी दिएर १६ वर्षमा जेल परेका थिए उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकामा विकासको बागडोर सम्हाल्न सिंहदरबार प्रवेश गरेका छन् ।

हाल राष्ट्रियसभा सदस्यका रुपमा रहेका श्रेष्ठकाे जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रुपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

उनले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । २०४२ सालमा नेकपा (चौम) को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र) का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेता भएका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ता पनि थिए । उनी हाल नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष हुन् ।

संविधानसभा सदस्यसमेत भइसकेका श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित भएका हुन् । उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका छन् ।

उनका विभिन्न कृति र लेखहरु प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उनले जेलजीवन बिताएका छन् । ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा समेत एउटा सन्तुलित समाधानकर्ता वा संयोजन गर्ने कुशल संयोजकका रुपमा उनी सक्रिय भए ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो ।

विसं २०६२र६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरुबीच भएको १२ बुँदे सहमति गराउनमा उनले खेलेको कुशल संयोजनकारी भूमिकाले उनलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो ।

अठार वर्ष भूमिगत रहेका श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक भएका थिए ।

उनले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिक पत्रिकाका सम्पादकका रुपमा काम गरेका थिए । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको पेरिफेरिमा नै रहे । मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गरेका थिए । सधैँ कक्षाका प्रथम भएका श्रेष्ठ २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड ताेडेका थिए ।

पहिला मेडिकल कलेजमा अध्ययन गरेका उनले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका थिए । उनले अर्थशास्त्रमा पनि स्नातक गरेका छन् ।

पन्ध्र वर्षमा एसएलसी पास गरेका थिए भने १६ वर्षको उमेरमा नै जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर केन्द्रीय कारागाारमा राखिएको थियो । उनी दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल परेका थिए । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ परेका थिए ।

मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिएका थिए । २०४७ सालमा मोटो मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य रहेका थिए । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उनी नेकपा ९एकता केन्द्र०को पोलिटब्यूरो सदस्य भएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष