NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

तार व्यवस्थित गर्दै वीरगञ्ज महानगरपालिका

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार व्यवस्थापन गरेको छ । नगरभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमको पोलमा गुजुल्ट्याएर राखिएका तार हटाएको हो ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहित महानगरको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्म बायाँतर्फको पोलमा रहेको अव्यवस्थित तार हटाएको छ ।

जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिगार्नाका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले तार व्यवस्थित गर्न महानगरले सेवा प्रदायकको सहमतिमै काम थालिएको हो । यसअघि टोलीले आदर्शनगर क्षेत्रका पोलमा टाँगिएका तार काटेर हटाएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ । इन्टरनेट सेवा प्रदायका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरको सूचना प्रविधि शाखाका वृजेश प्रधानले जानकारी दिए । महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार तान्दा तोकिएअनुसार मात्रै गर्न सूचना जारी गरेको छ ।