NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सावधान ! न्यानो खोज्दा ज्यान जाला

घटना १ : गत १३ कात्तिकमा ठमेलको नर्सिङ चोकस्थित आगमन होटेलमा कार्यरत २० वर्षीय सुजन तामाङ नुहाउन बाथरुम छिरे । ग्यास–गिजर खोले । तातोपानीले नुहाउँदै थिए । अचानक बेहोस भएर बाथरुममै ढले । निकै बेर ननिस्केपछि सहकर्मी दीपक दुलालले बाथरुम ढकढक्याए, तर खुलेन । ढोका फोडेर भित्र छिर्दा उनी बाथरुममै अचेत भएर ढलेका थिए । दुलालले हतारहतार अस्पताल पुर्‍याए । उपचारपछि धन्न उनको ज्यान जोगिन पुग्यो ।

घटना २ : गत ५ मंसिरमा रुपन्देही तिलोत्तमा नपा– ७ भलबारीका १६ वर्षीय एन्जल ढकाल पनि नुहाउन बाथरुम छिरेका थिए । चिसो हावा छिर्ने पिरले झ्याल–ढोका पूरै बन्द गरे । ग्यास–गिजर ‘अन’ गरे । बाथरुम जब तातोपानीको बाफले भरियो, एन्जल अचेत भएर त्यहीँ ढले । निकै बेर ननिस्केपछि उनको बुबाले ढोका फोडे । अचेत उनलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगियो । ‘सिरियस’ रहेका उनको बालबाल ज्यान जोगियो ।

घटना ३ : १२ मंसिर ०७८ मा दोलखा तामाकोसी गाउँपालिका– २ झुलेका २७ वर्षीय श्याम तामाङले पाँच दिनकी सुत्केरी श्रीमती २६ वर्षीया अम्बिका तामाङ र काखे शिशुलाई न्यानो बनाउन कराईमा दाउरा बाले । भुंग्रो बनेपछि घरभित्र लगे । झ्यालढोका बन्द गरे । दम्पती मिलेर काखे शिशु सेके । खाना खाए । र, भुंग्रोको न्यानोमा शिशुसँगै सुते । बिहान अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकीहरू श्यामको घर पुगे । ढोका र झ्याल ढकढक्याए, तर खुलेन । शंका भएपछि छिमेकीले घटनास्थलमा प्रहरी बोलाए । लगत्तै प्रहरी घटनास्थल पुग्यो । ढोका फोडेर भित्र छिर्दा दम्पती र शिशु ओछ्यानमै मृत अवस्थामा फेला परे ।

घटना ४ : २६ फागुन ०७७ को साँझ कोठा न्यानो बनाउन बैतडी शिवनाथ गाउँपालिका– ३ पुडिलका ३५ वर्षीय राजसिंह साउदले हिटर बाले । जाडो अझै बढेको महसुसपछि झ्यालढोका थुने । हिटरको पावर अझै बढाए । कोठा न्यानो हुँदै गयो । ओछ्यानमा पल्टिएका साउद मस्त निदाए, तर उनी भोलिपल्ट ब्यँुझेनन् । सँगै सुतेकी उनको भतिजी २० वर्षीया सरिता साउद भने बेहोस अवस्थामा फेला परिन् । अनुसन्धानमा खटिएका प्रहरीले निष्कर्ष निकाल्यो, ‘कोठामा अक्सिजन कमी हुँदा साउदको मृत्यु भयो ।’

घटना ५ : ०७७ कै मंसिर दोस्रो साता सुत्केरी श्रीमती र महिना दिनकी छोरीलाई न्यानो बनाउन काठमाडौं गोकर्णेश्वर– २ नयाँपाटी बस्दै आएका ३२ वर्षीय डोचे शेर्पाले कोठाबाहिरै मकल बाले । धुवाँ कम भएपछि मकल कोठामै लगे । २७ वर्षीया श्रीमती तेन्जी शेर्पासँगै मिलेर छोरीलाई सेकाए । अझै न्यानो भएको महसुस नभएपछि कोठाको झ्यालढोका बन्द गरे । विद्युतीय हिटर झिके र फुल अप्सनमा बालेर छाडे । कोठा तात्तिँदै गयो । दुवैले सँगै साँझको खाना खाए । एकछिन छोरीसँग खेले । ओछ्यान लगाए । हिटर र मकलको न्यानोसँगै दुवै मस्तसँग निदाए, तर उनीहरू पनि भोलिपल्ट ब्युँझिएनन् ।

घटना ६ : ७ माघ ०७६ मा शरीर न्यानो बनाउन खोज्दा आठजना भारतीय पर्यटकको एकै चिहान भयो । भारत केरलाबाट नेपाल भ्रमणमा आएका उनीहरू मकवानपुर दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा वास बसेका थिए । अत्यधिक जाडो भएपछि उनीहरूले कोठा न्यानो बनाउन हिटर बाले । तर, सोही हिटर आठजना भारतीय पर्यटकका लागि ज्यान गुमाउने कारण बनिदियो ।

घटना ७ : ललितपुर सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टेल बस्ने पर्सा जगन्नाथपुर– ४ की १९ वर्षीया जेनेथ चौहान नुहाउन १९ पुस ०७६ मा बाथरुम छिरिन् । तातोपानीका लागि ग्यास–गिजर खोलिन् । बाथरुमको झ्याल–ढोका बन्द गरिन् । तातोपानीले बाथटब भरिन् र त्यही पानीमा नुहाउन थालिन् । तर, उनी पनि बाथरुमबाट बाहिर निस्किन सकिनन् । निसास्सिएर उनको त्यहीँ ज्यान गयो ।

घटना ८ : काठमाडौं कीर्तिपुर– ८ सुन्दरबस्ती डेरा गरी बस्ने धादिङ नौबिसे– ९ रूपाकोटका ४५ वर्षीय नवराज रञ्जितकारले ३० मंसिर ०७६ मा दुई महिनाकी सुत्केरी श्रीमतीलाई न्यानो बनाउन कोठाभित्र कोइला बाले । कोठा अझ न्यानो बनाउन झ्याल–ढोका बन्द गरे । मस्त निदाएका उनकी श्रीमती र काखे छोरा भोलिपल्ट ब्युँझेनन् ।

माथिका घटना शरीरलाई न्यानो बनाउने सुरमा ज्यान गुमाएका केही प्रतिनिधि घटना हुन् । यस्ता घटना प्रत्येक वर्षको जाडो याममा हुने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकले पनि यही बताउँछ ।

नेपाल प्रहरीको तथ्यांकले भन्छ, ‘न्यानो ताप्ने सुरमा प्रत्येक वर्षको जाडोमा सरदर नौजनाको मृत्यु हुने गर्छ ।’ केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्, ‘प्रत्येक वर्षको हिउँदमा निसास्सिएर मर्नेको संख्या बढ्दै गएको देखिन्छ । सरदरमा प्रत्येक वर्ष नौजनाले यसरी ज्यान गुमाउने गरेको देखिन्छ ।’

प्रहरीको तथ्यांकअनुसार गएको पाँच वर्षमा मुलुकभर ४७ जनाले निसास्सिएर ज्यान गुमाएका छन् । विशेषगरी झ्याल–ढोका बन्द गरी हिटर, गुइँठा, दाउरा, मकल र कोइला बाल्ने क्रममा उनीहरूको मृत्यु भएको छ । बाथरुममा तातोपानीले नुहाउने क्रममा पनि केहीको मृत्यु भएको छ भने केहीको क्लब हाउसमा साउना लिने क्रममा पनि मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

प्रहरीका अनुसार झ्याल–ढोका बन्द गरी हिटर, गुइँठा, दाउरा, मकल र कोइला बल्दा कोठामा न्यानो हुन्छ । अक्सिजन उडेर सिलिङतर्फ जान्छ । खाली ठाउँमा भने कार्बनडाइअक्साइड भरिन्छ । जुन मानिसको स्वास्थ्यका लागि हानिकारक छ । सोही कारण मानिस बेहोस हुन्छ । अन्ततः मृत्यु हुन पुग्छ ।

झ्याल–ढोका बन्द गरेर न्यानो ताप्न नहुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली बताउ“छन् । ‘न्यानो बनाउने क्रममा कोठाको झ्याल–ढोका बन्द गर्छौँ । कोठामा अक्सिजन पातलो हुन्छ, बाहिरबाट रिफिल हुन पाउँदैन । अनि मानिस बेहोस हुन्छ र सोही कारण यसको मृत्यु भएका घटना भेटिएका छन् ।

विशेषगरी स्थानीय तहसँग समन्वय गरी सचेतना फैलाउन मातहतका प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको छ । केन्द्रीय प्रवक्ता डिआइजी राईले भने, ‘न्यानो ताप्ने सुरमा सर्वसाधारणले ज्यान गुमाउन थाले । उनीहरूलाई अब सचेत गराउन जरुरी रहेको देखियो । यसका लागि स्थानीय तहसँग समन्वय गर्न मातहतका सबै प्रहरी युनिटलाई निर्देशन भएको छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।