NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गरे देशव्यापी रूपमा प्रभातफेरि कार्यक्रम

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्त रूपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् ।  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू यही पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् ।

प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए ।

मर्जरपश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रूपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब भन्दा बढि र कूल कर्जा ३७९ अर्ब भन्दा रूपैयाँ बढी पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।