NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

फिक्सिङ प्रकरण : क्यानले राखेपलाई बुझायो कागजपत्र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आइतबार आवश्यक कागजपत्र बुझाएको छ । राखेपको छानबिन कार्यदल समितिले शुक्रबार क्यानलाई नेपाल टी–२० लिगको फिक्सिङ सम्बन्धमा २४ घन्टाभित्र आवश्यक सबै कागजपत्र बुझाउन पत्र काटेको थियो । राखेपको पत्रअनुसारै क्यानले ६ बुँदामा उल्लिखित सबै कागजपत्र बुझाएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका छन् ।

‘हामीले आज (आइतबार) सबै आवश्यक कागजपत्र राखेपमा बुझाएका छौँ,’ मल्लले भने, ‘फिक्सिङको अनुसन्धानमा क्यानले सबै सहयोग गर्नेछ ।’ कार्यदल समितिका संयोजक एकेन्द्र कुँवरले पनि क्यानका पदाधिकारीले कागजपत्र बुझाएको बताएका छन् । ‘राखेपले ६ बुँदामा माग गरिएको आवश्यक पर्ने कागजपत्र प्राप्त भएको छ,’ कुँवरले भने, ‘अब हामी सोमबारदेखि अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौँ ।’

कुँवरले क्यानका डकुमेन्ट मंगलबारबाट हेरिने बताए । उनका अनुसार क्यानले प्रतियोगिताको स्वीकृति, खेलाडी श्रमस्वीकृति, भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग भएको सम्झौतापत्र बुझाएको छ । क्यान स्वयंले आयोजना गरेको टी–२० लिगमा खेलाडीदेखि कमेन्टेटरले फिक्सिङ भइरहेको र प्रस्ताव आएको सार्वजनिक गरेपछि प्रतियोगिताले नयाँ मोड लिएको हो । गृह मन्त्रालयको निर्देशनमा सिबिआईले समेत टी–२० को अनुसन्धान गरिरहेको छ ।

यसैगरी, विश्व क्रिकेटकै सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दुई विशेष प्रतिनिधि काठमाडौं पठाएको थियो । आइसिसीका प्रतिनिधिले दुई दिन खेलाडी, क्यान पदाधिकारी, सिबिआई, राखेप र अफिसियलसँग फिक्सिङसम्बन्धमा छलफल गरेका थिए । आइसिसी प्रतिनिधिले आफ्नो प्रतिवेदन आइसिसीमा बुझाउनेछ ।

आइसिसी सकारात्मक
क्यान कार्यवाहक सचिव मल्लले आइसिसीको भ्रमण टोलीले दुई दिनसम्म गरेको अनुसन्धानमा बोर्डप्रति सकारात्मक रहेको बताएका छन् । ‘उहाँहरू फर्कने क्रममा क्यानप्रति सकारात्मक भएको हामीले पाएका छौँ,’ मल्लले भने । आइसिसीको एन्टिकरप्सन युनिट (एसियू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्र्यु एफग्रेभ र सन्नी छानबिन गर्न गत बिहीबार काठमाडौं आएका थिए ।

मल्लले प्रतियोगिताका दौरान क्यानले सिबिआई र आइसिसीलाई समेत स्पट फिक्सिङ र सम्भावित म्याच फिक्सिङको विषयमा जानकारी गराएको बताए । ‘हाम्रो र आइसिसीको एसियू टोलीले खेलस्थलदेखि खेलाडी बस्ने होटेलसम्म निगरानी राखेको हुन्छ । त्यति हुँदा पनि सम्भावित शंका भएपछि हामीले जानकारी गराएका थियौँ,’ मल्लले भने, ‘सिबिआईमा जानकारी गराएका थियौँ । यसैले पनि आइसिसीका प्रतिनिधि सकारात्मक देखिएका थिए,’ मल्लले भने, ‘आइतबार पनि आइसिसीका प्रतिनिधिसँग वार्ता भएको थियो, फिक्सिङसम्बन्धमा छिटै निर्णय गर्नेछ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।