NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

कर्मचारीले तलब भत्ता पाएनन्, सेवा ठप्प

धनुषा । जिल्लाको एक नगरपालिकाका कर्मचारीले तलब भत्ता नपाएपछि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नियमित खोपका कार्यक्रमसमेत पूर्णरुपमा बन्द गरेका छन् ।

नगराइन नगरपालिकाका जनप्रतिनिधिबीच विवाद भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित हुन सकेको छैन ।

दुई महिनादेखि नियमित खोप कार्यक्रम प्रभावित भएका कारणले बालबालिकामा प्राणघातक रोगको जटिलता आउने खतरा रहेको स्वास्थ्य कार्यालय धनुषा प्रमुख जुगलकिशोर यादवले बताए । करिब सात महिनाको तलब भत्ता नपाएका कर्मचारी तलब भत्ताको माग गर्दै आन्दोलनमा उत्रेपछि सो नगरपालिकामा सबै प्रकारका नियमित खोप सेवा बन्द भएको नगराइन नगरपालिका–७ का वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए ।

नगरपालिकामा रहेका सबै प्रकारको खोप सेवा प्रभावित भएका कारणले जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएका छन् । स्वास्थ्य कार्यालय धनुषा प्रमुख यादवका अनुसार क्षय रोगबाट शिशुलाई जोगाउनका लागि विसिजि, पेन्टा, पोलियो, एफआईटिभी, निमोनियाको पिसिभि, दादुरा रुवेलासहितका १३ प्रकारका खोप दिने गरिन्छ ।

नगरपालिकामा कर्मचारी हड्तालमा उत्रेका कारणले अत्यन्तै संवेदनशील खोप कार्यक्रम बन्द भएको र यसले बालबालिकाको स्वास्थ्यमा समस्या आउने खतरा रहेको स्वास्थ्य कार्यालय धनुषा प्रमुख यादव बताउँछन् ।

शिशुहरूलाई समयमा खोप दिएको खण्डमा प्राणघातक रोगबाट जोगाउन सकिने भएकाले नियमित खोजजस्ता कार्यक्रम रोक्ने अवस्था आउन नहुने बाल विशेषज्ञ डा जामुनप्रसाद सिंहको भनाइ छ ।

समस्या समाधानका लागि पटकपटक प्रयास गर्दा सफल नभएका कारण खोप जस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए । स्थानीय राजकिशोर यादवले गुनासो पोख्दै भने नगराइन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखका बीचमा योजनाको सञ्चालन तथा अनुगमनसहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन सकेको छैन । प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा केडी दासले भने सबैभन्दा बढी स्थानीयलाई आर्थिक समस्या र गाउँबाट अर्को ठाउँमा औषधि वा कुनै उपचार गराउन जानमा कष्ट हुने बताए ।