NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

विश्व अर्थतन्त्रमा संकटको घण्टी, गरिब देश थप प्रभावित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडाैं । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सन् २०२३ को पहिलो सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । यो तीन दशकमा आर्थिक वृद्धिको तेस्रो न्यून अनुमान हो । यसअघि सन् २००८ को मन्दी र २०२० मा कोरोनाको प्रकोपका कारण आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको थियो।

विश्व बैंकका अनुसार मन्दीको असर विशेषगरी गरिब देशहरू बढी प्रभावित हुने छन् । यी देशहरूमा सन् २०२३ र २०२४ मा प्रतिव्यक्ति आय १.२ प्रतिशत मात्रै बढ्ने विश्व बैंकले प्रक्षेपण गरिएको छ ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा हेरिएको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको प्रक्षेपणअनुसार भारतमा सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा छ दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर रहने छ । त्यस्तै, पाकिस्तानमा सन् २०२३ मा दुई प्रतिशत र सन् २०२४ मा तीन दशमलव दुई प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ । त्यस्तै, बङ्गलादेशमा सन् २०२३ मा पाँच दशमलव दुई र सन् २०२४ मा छ दशमलव दुई प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकको प्रक्षेपणअनुसार नेपाल अहिलेसम्मको अवस्थाअनुसार अर्थतन्त्र स्थिर रहने देखिएको छ । नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ । २०२३ र ०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ ।