NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नबिल बैंकको ३८औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकले ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा आज सम्पन्न गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्वात पारित गरेको हो । यसका साथै सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित भएको छ ।

३८ वर्ष देखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गको बैंकहरुमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ । साधरणसभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।

नबिल बैंक आव २०७८/७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा  ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी यस वर्ष २७ अर्ब नाघेको छ ।

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए । उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे । बैंकले स्थापनाकालदेखि हालसम्म रु। १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुष १८ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।