विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन
काठमाडाैं । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौंमा छोरासँग बस्दै आएका थिए । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्कंदै थिए ।
बाबाको जन्मघर, गाउँ घुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये । तर उनीहरुको खुसी विमानवाट झर्न नपाउँदै बिलय हुन पुग्यो । आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उनको छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति चार वर्षीय बेवीन शर्माको निधन भएको छ ।
लामो समयदेखी गाउँ नआएका छोरा र नाति नातिनीसँग गाउँ फर्किंदा जमुना खुसी त थिए नै साथै उनले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामा समेत जाने योजना बनाएकी थिइन् । तर विमान दुर्घटनासँगै उनको सपना पनि अस्ताएको छ । जमुना आधा समय काठमाडौँ छोरासँग र आधा समय गाउँमा नै बस्ने गर्थ्यो । छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) मा आइटी अधिृकतका रुपमा कार्यरत थिए भने बुहारीसरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा कार्यरत रहनुभएको उहाँका आफन्त विहादी गाउँपालिकाकी उपाध्यक्ष मिना तिवारीले जानकारी दिए ।
आफैँले टिकट काटेर श्रीमान्, छोरा, छोरी र सासूआमालाई घर पठाएकी सरुले आफूलाई सम्हाल्न नसकेर विक्षिप्त भएकी छिन् । उनी यतिबेला अस्पतालमा भर्ना भएकी छिन् । एकै परिवारका चार जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ । गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् । विमान दुर्घटनामा परी पर्वतमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शर्मा परिवारका चार जना, पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनको छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा नं १ पाङ्की रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेल, मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका विजय गुरुङ रहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया