NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

औषधि नपाउँदा बिरामी समस्यामा

काठमाडौं । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’ मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन् ।

विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् । फार्मेसीमा औषधिका लागि पुुर्जा लिएर बिरामीका आफन्तहरू आउँछन्, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैँ हुने गरेको स्वास्थ्यकर्मीले बताउँछन् । चिकित्सकले लेखिदिएकाे औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताए ।

सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उनले गुनासो गरे । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए । ‘नाममात्रको फार्मेसी भएपछि के गर्नु, औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ’, उनले भने ।

सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धीत निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ ।