बीमाप्रतिको जिम्मेवारी वोध गरेको व्यक्तिलाई मात्र अभिकर्ताका रूपमा छनौट गर्न निर्देशन

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज आयोजित बीमा अभिकर्ता व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बीमा अभिकर्ताबाट बीमा व्यवसायको गुणस्तर र बीमाप्रतिको विश्वास बढ्ने तथा कम्पनी पनि सशक्त हुने भएकाले बीमा अभिकर्ता इजाजतपत्रका लागि सिफारिश गर्दा यी विषयमा गम्भीर हुन निर्देशन दिए ।
अध्यक्ष सिलवालले भने, ‘एउटा बीमकको बीमा अभिकर्ताले अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भएर काम गर्न नपाउने कानूनी व्यवस्था छ । अब बीमा कम्पनीले आफ्नो बीमा अभिकर्ता अर्को कम्पनीको बीमा अभिकर्ता छैन भन्ने निश्चित गर्नुपर्छ । बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ । बीमा अभिकर्ता हुन तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।’
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमी कमजोरी नदोहोरिने गरी सङ्ख्याभन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बीमा अभिकर्ताका रूपमा काम नगर्न/नगराउन बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमकले बीमा अभिकर्ता छनौट गर्दा अन्य बीमा कम्पनीले आफूसँग उक्त बीमा अभिकर्ताको कुनै लेनदेन नभएको मञ्जुरीनामा दिएको वा बीमा अभिकर्ता स्वयम्ले अन्य बीमा कम्पनीमा आफ्नो कुनै लेनदेन बाँकी नरहेको कबुलियतनामा गरेको हुनपर्ने व्यवस्था रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया