NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अर्थतन्त्रका समस्या पहिचानकै क्रममा छु, चाँडै समाधानका कार्यक्रम लिएर आउँछु : अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यसअघिसमेत नेपालले ठूलाठूला समस्या भोगेको भए पनि अर्थतन्त्रमा अहिलेको जस्तो सङ्कुचन नदेखिएको बताए ।

‘नेपालले यसअघि धेरै प्रहार सहन गरेको छ । भूकम्पको प्रहारलगत्तै नाकाबन्दीको प्रहार नेपालले भोगेको छ । कोभिड महामारीका बेला पनि अर्थतन्त्र जेनतेन धान्यो”, अर्थमन्त्री पौडेलले भने, ‘अहिले कोभिड, भूकम्प, नाकाबन्दी छैन । तर हामी आर्थिकरूपमा चिन्ताजनक अवस्थामा कसरी पुगियो भन्ने जबर्जस्त प्रश्न देखिएको छ ।’

भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धर्मराएको हो भनेर समस्या पहिचान भइरहेको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएका समस्याका कारणको सूक्ष्म विश्लेषण गर्दै समाधानका लागि आफू लागिरहेको पनि पौडेलले बताए ।

‘अर्थतन्त्रलाई सूक्ष्म ढङ्गले हेरेर समस्या पहिचानकै क्रममा छु । समस्या कसरी देखियो भन्ने प्रश्नको जवाफ नखोजिकन हामी यसलाई समाधान गर्न सक्दैनौँ । त्यसकारण म सार्थक र निर्णायक समाधान खोज्ने क्रममा छु,’ अर्थमन्त्री पौडेलले भने ।

अहिले सरकारको राजस्व परिचालन र पूँजीगत खर्च चिन्ताजनक अवस्थामा रहेको बताउँदै उनले करको दायरा बढाउने, कर प्रशासन चुस्त बनाउने र खपत बढाउनका लागि सरकारले काम गर्ने बताए । त्यस्तै, पूँजीगत खर्चलाई कसरी बढाउन सकिन्छ भनी सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । नयाँ सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक खर्च कटौतीको निर्णय गरेको उल्लेख गर्दै उहाँले मितव्ययी र आर्थिक अनुशासन पालनाका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए ।

त्यस्तै सरकारले निजी क्षेत्रसँग वैरभाव राख्ने नभई आत्मविश्वास बढाएर अघि बढ्ने नीति लिएको पनि मन्त्री पौडेलले उल्लेख गरे । ‘सरकार निजी क्षेत्रको अविभावकको भूमिका निर्वाह गर्छ । एक/एक समस्या पहिचान गरेर समाधान गर्न तयार छ । तर निजी क्षेत्रले पनि सरकारका समस्या बुझिदिन प-यो,’ उनले भने ।

सोही कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र पटकपटक दुर्घटना हुनबाट बचेको उल्लेख गरे । ‘पछिल्ला वर्षमा नेपालको अर्थतन्त्र पटकपटक क्र्यास हुनबाट बचेको छ । सफल ल्यान्डिङ गर्न नसक्दा ओभरसुट गरेको हवाईजहाजको जस्तो अवस्था नेपालको अर्थतन्त्रले भोगिरहेको छ । यसलाई अब ट्र्याकमा ल्याउन क्रेनले तान्नुपर्ने अवस्था आएको छ,’ खतिवडाले भने ।

नेपालको वित्तीय नीति र मौद्रिक नीतिको सन्तुलनबाट अर्थतन्त्रलाई सही दिशामा ल्याउनु आवश्यक रहेको उहाँले बताए । त्यस्तै नेपालले विभिन्न वस्तुको आयातमा रोक लगाएर विदेशी मुद्राको सञ्चिति बढेको भनेर सन्तुष्ट हुनपर्ने अवस्था नरहेको पनि पूर्वअर्थमन्त्री खतिवडाको भनाइ छ ।

‘स्वदेशमा पूँजी निर्माण गर्ने वस्तुको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाएको देखाउनुको कुनै अर्थ छैन । नेपालभित्रकै उत्पादन बढाउनका लागि पहल गर्न आवश्यक छ,’ खतिवडाले भने । नेपालले विदेशी लगानी भित्र्याउनका लागि हेजिङसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सार्वभौम साख मूल्याङ्कन ९क्रेडिट रेटिङ० पनि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले सन २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान भइरहेकाले नेपालले आफ्नो अर्थतन्त्र सुझबुझपूर्ण ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताए । वित्तीय खाताको सन्तुलन कायम गर्न अहिलेको सरकारले मुख्य पहल गर्नुपर्ने उनको भनाइ छ । सरकारी राजस्वले चालू खर्च पनि मुस्किलले धान्नसक्ने अवस्था रहेको, पूँजीगत खर्च न्यून रहेको, सरकारी खर्च र सामाजिक सुरक्षाको दायित्व बढ्दै गएको पनि वाग्लेले बताए ।

‘सरकारी कर्मचारी र सामाजिक सुरक्षाका कार्यक्रमबाट सिर्जित आर्थिक दायित्व ठूलो छ । सार्वजनिक संस्थानहरूको प्रभावकारिता देखिन सकेको छैन । खर्चमा मितव्ययिता हुन नसक्दा सरकारी राजस्वले चालु खर्च नै धान्न समस्या छ,’ वाग्लेले भने ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले पहल गर्नुपर्ने पनि उनको सुझाव छ । त्यस्तै अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान बढाएर रेमिट्यान्सको योगदान घटाउँदै जानुपर्ने उनको भनाइ छ । ‘हामी व्यक्ति बेच्ने कि वस्तु बेच्ने भन्नेकुरामा स्पष्ट हुन जरुरी छ । सूचना प्रविधिका क्षेत्रमा पनि राम्रो गर्न सकिन्छ । तुलनात्मक लाभका क्षेत्र पहिचान गरेर जानसके त्यसले अर्थतन्त्रमा योगदान गर्न सक्छ,’ वाग्लेले भने ।

सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताए । पछिल्लो समय अवैध व्यापार बढेका कारण भन्सार राजस्व घटेको, कृषि उत्पादन घटेको तथा कृषि कर्जाको प्रभावकारिता नदेखिएको मल्लको भनाइ छ । हस्तकलाका सामग्री ब्राण्डिङमा सहयोग गर्नुपर्ने, पर्यटन सेवालाई प्रवद्र्धन गर्ने, नेपाललाई सूचना प्रविधि क्षेत्रको हब बनाउन पहल गर्नसके अर्थतन्त्रका हालका समस्या समाधन गर्न सकिने र भविष्यको बाटो तय गर्नका लागि पनि सहज हुने मल्लले बताए ।