NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

१५ लाख राशीको दौड प्रतियोगिता हुँदै, नाम दर्ता अनलाइनबाट

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को आयोजनामा पर्सि (माघ ७) गते झण्डै १५ लाख पुरस्कार राशीको राइट टू प्रोटिन रन’ नामक दौड प्रतियोगिता हुने भएको छ ।

प्रोटिन तथा सन्तुलित आहारको महत्त्वलाई आम नागरिकसमक्ष उजागर गर्न एनभिएले विभिन्न विधाका दौड प्रतियोगिता गर्न लागेको हो ।प्रोटिनबारे जनचेतना अभिवृद्धि गर्ने हेतुले शनिबार ७ बजे राइट टू प्रोटिन रनको दोस्रो संस्करण गर्न लागेको नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीका लागि ५ किमि पुरुष र ३ किमि महिला तथा फरक क्षमता भएका व्यक्तिहरूको ह्विलचियर विधाका दौड समावेश छन् । प्रतियोगीका रूपमा ३०० भोलेन्टियर दौडमा सहभागी हुनेछन् ।

प्रतियोगितामा सहभागिताका लागि हालसम्म ३ हजार ६०४ जनाले नाम दर्ता गराएका छन् । उनीहरू ६ वर्षदेखि ७२ वर्ष उमेर समूहका भएको श्रेष्ठले जानकारी दिए । नाम दर्ता समय बाँकी रहेकाले करिब ५ हजार सहभागी हुने एनभिएले अनुमान गरेको छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि १२ स्थानमा पानीसँगै प्राथमिक उपचारको प्रबन्ध गरिएको छ । आकस्मिक सेवाका लागि ७ एम्बुलेन्स र ३०० स्वयंसेवक खटिने श्रेष्ठले जानकारी दिए ।

नेपाल एथ्लेटिक्स एशोसियसनको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र यसअन्तर्गतका दाना उद्योगहरूको सहयोग छ । हस्पिटल पार्टनर प्रिमेरा हस्पिटल, टिकेटिङ पार्टनर इसेवा र हस्पिटालिटी पार्टनर मोरियोट होटल र फेयर फिल्ड बाइ मेरियट रहेको प्रतियोगितालाई नेपाल एथ्लेटिक एसोसिएसनले समेत मान्यता दिएको छ । उक्त प्रतियाेगितामा ह्विलचियर दौड पनि हुने छ भने पाँचौं स्थान हासिल गरेकासम्मलाई पुरस्कारकाे व्यवस्था गरिएकाे आयोजनकले जनाएकाे छ ।

कसरी गराउने नाम दर्ता ?

नाम दर्ता अनलाइनबाटै गर्ने प्रबन्ध एनभिएले मिलाइएको छ । एनभिएका अध्यक्ष डा. श्रेष्ठका अनुसार, इच्छुक व्यक्तिले इसेवा र फोनपेबाट शुल्क तिरेर प्रतियोगिताका लागि नाम दर्ता गराउन सक्छन् ।

नाम दर्ताका लागि ३०० शुल्क तोकिएको र त्यसबापत सहभागीलाई टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने श्रेष्ठले बताए ।

कति छ पुरस्कार ?

दौड प्रतियोगिताका सफल प्रतियोगीलाई नगद पुरस्कार र सम्मानपत्रसहित प्रधानमन्त्रीले सम्मान गर्नेछन् । प्रतियोगितामा पाँचौं स्थानसम्म हासिल गर्नेलाई पुरस्कृत गर्ने आयोजकको तयारी छ । दौडमा कुनै स्थान नपाएका सहभागीको पनि हात खाली हुनेछैन । उनीहरूलाई पनि सम्झनास्वरूप मेडल प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सबै प्रतियोगिताको कुल पुरस्कार राशि राशी १४ लाख ८३ हजार ३३३ रूपैयाँको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार बिजेताको पुरस्कार राशी १ लाख ३३ हजार ३३३ छ । यो करसहितको रकम हो ।

दशरथ रंगशालाबाट सुरु हुने प्रतियोगिताका विजयीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कृत गर्ने कार्यक्रम छ । प्रोटिनमाथिको अधिकार आत्मसाथ गर्दै एनभिएले गत वर्ष पनि यस्तै प्रतियोगिता गरेको थियो । गत वर्ष हाफ म्यराथानमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन प्रथम भएका थिए ।

प्रोटिनको महत्त्व उजागर गर्न आयोजना गरिएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाललगायत विश्वका बालिबालिका मासु, अण्डा, दूध, माछा, गेडागुडीलगायतमा पाइने प्रोटिनको अभावले कुपोषणको शिकार हुने गरेका छन् । एक तथ्यांकअनुसार, नेपालमा ५ वर्षमुनिका ४० प्रतिशत बालबालिका कुपोषणबाट ग्रस्त छन् ।