NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म

काठमाडाैं । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।

विसं २०४० असोज ३ गते आमा धनरुपा र बुवा धनन्जय न्यौपानेका  तीन दाजुभाइका माझ एक छोरीका रूपमा तातोपानी गाउँपलालिका–४ जुम्ला ९साविकको हाँकु गाविसमा०मा उहाँ जन्मिएकी हुन् । गरिबी, अभाव, रोग, अशिक्षा र उत्पीडन झेलिरहेको समाजमा जन्मिएकी यशोदालाई त्यही समाजको विद्यमान अवस्थाले २०५५/५६ देखि राजनीतिप्रतिको चासो बढ्दै गयो ।

तत्कालीन समयमा नेकपा माओवादीले सशस्त्र बिद्रोह थाल्यो । यशोदा २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य भइन् । पार्टीमा जोडिँदै गर्दा कलाकार हुँदै उनी अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको एरिया उपाध्यक्ष र पछि महिलाको एरिया अध्यक्ष बनिन् । त्यसको एक वर्षपछि २०५८ मा एरिया सेक्रेटरी, त्यसको अन्त्यतिर पार्टीको जिल्ला कमिटी सदस्य, महिला सङ्गठनको जिल्ला कमिटी सचिव हुँदै अखिल नेपाल किसान सङ्गठन (क्रान्तिकारी) क्षेत्रीय ब्यूरो सदस्य बनिन् । विसं २०५९ मा माओवादीद्वारा गठित जनमुक्ति सेनाको प्लाटुन कमाण्डर  बनिन् ।

पार्टीको क्षेत्रीय ब्यूरो सदस्य हुँदै यशोदा २०७८ मा पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा हाल कालीकोटको सहइन्चार्जका रूपमा काम गर्दै आएकी छिन् ।

नेकपा माओवादीको पूर्णकालीन सदस्य भएयता यशोदा पटक पटक  युद्ध मोर्चामा सहभागी भइन् । अछामको मङ्गलसेन आक्रमणपछि जुम्ला घर फर्कँदै गर्दा कालीकोटको सेराबाडामा उनी सेनाको घेरामा परिन् । कालीकोटकै मुग्राहमा भएको भिडन्तमा पनि उनी बाँचिन् । विसं २०५७ मा यशोदाले कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईँसँग विवाह गरिन् । उनको एक छोरी छन् । हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहेएकी यशोदा माओवादीभित्र जुझारु, इमान्दार, कर्मशील र व्यवस्थापकीय क्षमता भएकी महिलाका रुपमा चिनिन्छिन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यशोदा नेकपा (माओवादी केन्द्र) बाट कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । यही माघ ४ गते बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकबाट प्रदेशसभामा कायम रहेको ४० सदस्य संख्या ३८ उपस्थित हुँदा २४ मत ल्याएर बहुमतले उनी उपसभामुखमा निर्वाचित भएकी छिन् । माघ १ गते सभामुखको निर्वाचन सम्पन्न गरेको प्रदेशसभा बैठकले माघ ४ गते उपसभामुख चयन गरेको हो । सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भइन् ।