आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा आज राति पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।
आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनाका साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका केही भू–भागहरूमा भने बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
यसैगरी मङ्गलबार दिउँसोदेखि हिमपात र वर्षाको मात्रा बढ्ने अनुमान गरिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव गण्डकी प्रदेशसम्म पर्नेछ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका साथै गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा र हिमपात हुने भएकाले चिसो हावासमेत चल्ने मौसमविद् अधिकारीले बताए । हावा चल्ने हुँदा यी प्रदेशमा अबको केही दिनमा हुस्सु कुहिरो भने हट्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन माग
-
लुम्बिनीको तराई क्षेत्रमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
-
कतिबेलाबाट सुरु हुन्छ उपनिर्वाचनको मतगणना ?
-
पहाडी भागमा आज हल्का वर्षाको सम्भावना
-
१५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
प्रतिक्रिया