NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आजदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आजदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा आज राति पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनाका साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही भू–भागहरूमा भने बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

यसैगरी मङ्गलबार दिउँसोदेखि हिमपात र वर्षाको मात्रा बढ्ने अनुमान गरिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव गण्डकी प्रदेशसम्म पर्नेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका साथै गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा र हिमपात हुने भएकाले चिसो हावासमेत चल्ने मौसमविद् अधिकारीले बताए । हावा चल्ने हुँदा यी प्रदेशमा अबको केही दिनमा हुस्सु कुहिरो भने हट्ने अनुमान गरिएको छ ।