NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

डिएसपीमाथि ‘बलात्कारपीडित’को संगीन आरोप– पीडकको पक्ष लिएर हतियारसहित धम्क्याउन आए, उजुरी फिर्ता लिन बाध्य पारे

प्रहरीकै कारण न्याय नपाएको भन्दै गृहमा पीडितको गुहार

काठमाडौं । पाँच वर्षअघि आफूमाथि भएको जबरजस्ती करणीको घटना दबाउन नेपाल प्रहरीकै प्रहरी नायब उपरीक्षक (डिएसपी) संलग्न भएको भन्दै एक किशोरीले न्यायका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छन् ।

लक्ष्मी यादव (नाम परिवर्तन) ले ०७५ चैत्र २० गते रामेछाप गोठगाउँका प्रदीप कठायतले आफूमाथि जबर्जस्ती करणी भएको दाबी गरेकी छन् । करणी गर्ने उनै कठायतविरुद्ध जाहेरी दिँदा नेपाल प्रहरीका डिएसपी सुरज कार्कीले त्यसलाई दर्ता नगरी फिर्ता लिन दबाव दिएको निवेदनमा उल्लेख गरेकी छन् ।

डिएसपी कार्की नाताले कठायतका मामा पर्छन् । कार्कीकै आडमा कठायतले उनीमाथि बारम्बार करणी गरेको यादवले गृह मन्त्रालयमा दिएको निवेदनमा उल्लेख छ ।

करणीबाट गर्भ बसेको थाहा पाएपछि स्वास्थ्य परीक्षणका लागि पीडित महिला २० चैत ०७५ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेकी थिइन् । स्वास्थ्य परीक्षण गर्दा उनको ‘पाइन ट्युब’मा गर्भ बसेको र उक्त ट्युब फुटेर ‘इन्फेक्सन’ भएको चिकित्सकले उनलाई जानकारी गराएका थिए । पीडित महिलाको ज्यान जोखिममा रहेकाले चिकित्सकको परामर्शमा तत्काल अप्रेसन गरी आफ्नो ज्यान बचेको पीडित महिलाको बयान छ ।

उनको उपचारपश्चात् पीडितका परिवारले कठायतलाई बोलाएर सोधखोज गर्दा उनले यादवलाई विवाह गर्ने आश्वासन दिई सिनामंगलस्थित एक गेष्ट हाउसमा राखेर चैत २४ मा पुनः जबर्जस्ती करणी गरेको उनले आरोप लगाएकी छन् । करणीपश्चात् उनलाई गेष्ट हाउसमै छाडेर कठायत भागेको निवेदनमा उल्लेख छ ।

स्वास्थ्यमा सुधारपछि ०७६ वैशाख २९ मा उनले आफूमाथि भएका ज्यादतीविरुद्ध महिला सेल कालिमाटीमा जानकारी गराएकी थिइन्। तर प्रहरी कर्मचारीहरूले उनले लगाएको आरोपमाथि पटक–पटक छलफल गरी अलमलाउने काम मात्र भएको उनले जिकिर गरेकी छन् । निवेदन दर्ताका लागि पटक–पटक ताकेतापछि ०७६ जेठको दोस्रो साता भने बल्ल उजुरी लिइएको थियो ।

आफ्नो न्यायका लागि लड्दा डिएसपी सुरज कार्की, पीडक कठायतका काकालगायत व्यक्तिले कपनस्थित डेरामा हातहतियारसहित प्रवेश गरी धाकधम्की तथा डरत्रास देखाएको आरोप पनि पीडित महिलाले लगाएकी छन् ।

जाहेरी र्फिता नगरे यादवलाई लागूऔषध मुद्दामा फसाउने र परिवार सबैको जिन्दगी बर्बाद पार्नेसम्मको धम्की डिएसपी कार्कीले दिएका थिए । यस्तो धम्कीपछि पीडित यादव र उनकी आमाले महिला सेल कालिमाटीमा हालेको उजुरी फिर्ता लिएका थिए ।

‘म निवेदक अन्यायमा परी न्यायका लागि दिएको उजुरी हाल जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत डिएसपी सुरज कार्कीको धम्की र जबरजस्तीमा फिर्ता गराएकोप्रति पटक–पटक विभिन्न निकायमा न्यायको लागि गुहार मागेको भएता पनि कुनै सुनुवाइ नभएको र मेरो जाहेरीबाट तत्काल मुद्दा चलेमा कार्कीको भान्जा प्रदीप कठायत जबरजस्ती करणी मुद्दाको अनुसन्धान, कारबाहीमा नै भएकोले निज प्रहरी कर्मचारी कार्कीले आफ्नो बर्दीको आडमा मलाई धम्काई महिला सेल कालिमाटीमा समेत के कसो कुरा मिलाई मेरो उजुरी फिर्ता गराएको कार्यले म हालसम्म अन्यायमा जीवन जिउन बाध्य भएको छु,’ पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

पीडित यादवले उजुरी फिर्ता गर्न लगाउने कार्कीलाई तत्काल झिकाइ आवश्यक कानुनी कारबाही गराउन आग्रह गरेकी छिन् । साथै उनले स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाइ सोही उजुरी र स्वास्थ्य प्रतिवेदनका आधारमा पीडक प्रदीप कठायतमाथि थप अनुसन्धान गरी मुद्दा चलाउन गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा सरोकारवाला निकायलाई निर्देशन दिन माग गरेकी छन् ।