पूर्वी नाकामा कोभिडसँगै मलेरिया र एचआइभी परीक्षण
झापा । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको छ ।
विगत तीन वर्षअघि कोभिड–१९ को जाँच गर्न मेची पुलको मुखमै कार्यालय स्थापना गरेर राखिएको डेस्कमा मन्त्रायलयकै निर्देशनमा यी रोगको पनि परीक्षण गर्न थालिएको हो ।
कार्यालयमा मन्त्रालयकै मातहतमा रहेकी ल्याब असिस्टेन्ट शान्त भण्डारीले भारतलगायत तेस्रो मुलुकबाट आउनेको शङ्का लागेमा जाँच गर्ने गरिएको जानकारी दिइन्।
उनले डेस्कमा दैनिक पाँचदेखि १५ जनासम्मको मलेरिया र तीनदेखि चार जनासम्मको एचआइभी परीक्षण गरिँदैै आएको बताइन् । ‘हामीलाई भारतलगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेमध्ये शङ्का लागेका व्यक्तिको जाँच गर्छौं’, उनले भनिन् ‘अन्य रोगको जाँच गर्न सजिलै छ, तर एचआइभी परीक्षण गराउन गाह्रो हुन्छ ।’
उनका अनुसार विशेष गरी डेस्कमा भारतका विभिन्न स्थानबाट नेपालमा रोजगारीका लागि आउनेको भने अनिवार्यरुपमा एचआइभी र मलेरियाको परीक्षण गरिएको छ । मन्त्रालयले एक अहेबसहित दुई कर्मचारीलाई सीमा डेस्कमा खटाउँदै आएको छ ।
यसैगरी सीमामा काउन्सिलिङ गर्न र कोभिडसँग अन्य रोगको जाँचकै लागि प्रदेश नं १ को स्वास्थ्य मन्त्रालयलेसमेत एक ल्याब असिस्टेन्टको व्यवस्था गरेको छ । मेचीनगर नगरपालिकाले चार स्वास्थ्यकर्मीलाई सीमामा विगत तीन वर्षदेखि नै खटाउँदै आएको छ ।
‘दैनिक यो नाकाबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या दुई/तीन सय बढी छ’, प्रदेश मन्त्रालयबाट खटाइएकी ल्याब असिस्टेन्ट रक्षा देउजाले भनिन् ‘जनशक्ति अभावले काम गर्न कठिनाइ भइरहेको छ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया