सत्तागठबन्धनभित्र बढ्दो विवादबारे आज छलफल गर्दै माओवादी
काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बुधबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले स्थगित हुन पुगेपछि आज बस्न लागेको हो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयका अनुसार, बैठक अहिले बिहान ११ बजेका लागि तय छ ।
गृह मन्त्रालयलाई लिएर उत्पन्न विवाद, समसामयिक राजनीतिलगायत विषय बैठकको मुख्य एजेन्डा रहेको माओवादीका एक स्थायी समिति सदस्यले जानकारी दिए ।
सर्वोच्च अदालतले नेपाली नागरिक नरहेको ठहर गरेपछि गृह मन्त्रालय गुमाएका रवि लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता प्राप्तिपछि पुनः पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने अडानमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक–पटक भेटेर पुरानो जिम्मेवारीमा फर्काउन आग्रह गरेका लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्रीलाई दबाब दिन आग्रह गर्दै आएका छन् । एमालेले पुरानो सहमति स्मरण गराउँदै रविलाई पुरानो जिम्मेवारीमा फर्काउन आग्रह गरे पनि प्रधानमन्त्री दाहाल गृह मन्त्रालय रविलाई नदिने मुडमा छन् । रविको फैसलाको पूर्ण पाठ नआएको तथा राहदानी दुरूपयोगको अभियोग बाँकी नै रहेकाले यसको किनारा नलाग्दासम्म दिन नसकिने दाहालले सार्वजनिक रूपमै बताएका छन् । त्यसैगरी, भावी राष्ट्रपतिलाई लिएर पनि सत्तागठबन्धनभित्र मतान्तर बढ्दै गएको छ । एमाले आफ्नो पार्टीले अघि सारेको उम्मेदवारलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छ भने माओवादी राष्ट्रिय सहमतिको कुरा गरिरहेको छ । माओवादीका एक नेताका अनुसार, यीलगायत विषयमा आजको बैठक केन्द्रित हुनेछ ।
ताजा अपडेट
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न


प्रतिक्रिया