NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रास्वपामा वेथितिको चाङ : रविले कानुन तोडे, मन्त्री र सांसद विवादमा तानिए

काठमाडौं । परम्परागत राजनीतिक दलको विकल्पमा आएको दाबी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू एकपछि अर्को गम्भीर विवादमा मुछिएका छन् । रास्वपाबाट सरकारको नेतृत्व गरेका सभापतिसमेत रहेका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरेको छ । उनले एकैपटक पार्टी सभापति, सांसद, मन्त्री पद गुमाए । राहदानी विवाद सम्बन्धमा उनीमाथि थप अनुसन्धान हुने देखिन्छ । उनले नियुक्त गरेका मन्त्रीहरूसमेत अहिले विवादमा तानिएका छन् ।

नागरिकता विवादमा रवि दोषी रहेको सर्वोच्चको ठहर

चर्चित पूर्वटेलिभिजन प्रस्तोता रहेका रविले पत्रकारिता पेशा छाडेर गत असारमा दल दर्ता गरेका थिए । तर रास्वपा नजन्मिँदै विवादमा फस्यो । स्वतन्त्र उम्मेदवारको अस्तित्व समाप्त गर्न उस्तै नामको दल खोलेको उनीमाथि आरोप लाग्यो । उनको दलविरुद्ध स्वतन्त्र समूहले निर्वाचन आयोगमा उजुरी दिए । यद्यपी आयोगले उक्त पार्टीलाई मान्यता दियो ।

एमालेका अध्यक्ष केपी ओलीले रास्वपाको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिल्ने दाबी गरे । १३ मंसिरमा पार्टी कार्यालय च्यासलमा भएको एक कार्यक्रममा रविको राष्ट्रियतामाथि प्रश्न उठाउँदै ओलीले रविको दलमाथि टिप्पणी गरेका थिए ।

‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी अफ अमेरिका भन्ने छ । त्यसको चिन्ह घण्टी छ’, उनले भने, ‘दुरूस्त आकारकोे घण्टी र पार्टीको नाम पनि यहाँ ल्याएको छ ।’

युवा अवस्था अमेरिकामा बिताएका रविले सन् २००८ मा उतैका नागरिक भएका थिए । २०७० देखि उनी सञ्चारकर्ममा आबद्ध भए ।

टेलिभिजनमा लामोसमय राजनीतिक, आर्थिक, प्रशासनिक र सामाजिक क्षेत्रमा देखिएका वेथितिमाथि चोटिला प्रहार गर्दै आएका उनको राजनीति यात्रलाई विशेष गरी श्रमजीवि र युवायुवतीले निकै प्रशंसा गरे । उनलाई भगवान मान्नेहरूले रविमार्फत् देशमो आमूल परिवर्तन विश्वास र भरोसा राखे ।

राष्ट्रिय सभामा आयोजित दल दर्ता कार्यक्रममा आफ्ना प्रशंसकका अगाडि उभिएर उनले भने–‘पत्रकारिता मेरो रहरको पेशा हो । राजनीतिमा आउनु मेरो बाध्यता हो । पुराना दलका नेताहरूले राम्रो काम गरिदिएका भए म राजनीतिमा आउनुपर्ने थिएन । देशमा देखिएका व्याप्त वेथितिको ‘एम स्वीच अफ’ गर्न आएको छु । त्यस्तै सहयोग तपाईंहरूबाट होस् ।’

रविका कुरालाई आम मतदाताले विश्वास गरे । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित रूपमा उनको दलले २० सिट जित्यो । तेस्रो दल बन्न माओवादीलाई हम्मेहम्मे बनाएको रास्वपाले ११ लाख ३५ हजार बढी लोकप्रिया मत ल्यायो । उनले चितवन—२ बाट कांग्रेस र एमालेका प्रभावशाली नेताहरूलाई अत्याधिक मतले पराजित गर्न सफल भए ।

११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री फुत्काए । छोटो समयमै रविको राजनीतिक छलाङले सबैलाई आश्चर्यचकित भए। गृहमन्त्री भएलगत्तै प्रतिनिधिसभाको रोष्टममा उभिएर छातिमा हात राख्दै वेथितिको अन्त्य गरी सुशासन अन्त्य कायम राख्ने प्रतिवद्धता जनाए । तर मन्त्री भएको ३२ दिनमै देशको संविधान र कानुन उल्लंघन गरेको अभियोगमा सर्वोच्च अदालतले उनको सांसद र मन्त्री पद खारेज गर्यो ।

मुलुकमा देखिएको राजनीति फोहोर सफा गर्न आएको व्यक्ति नै नागरिकता र राहदानी दुरुपयोग गरेको गम्भीर विवादमा मुछिएपछि अहिले उनको कार्यक्षमता र विश्वासमाथि प्रश्न उठेको छ ।

श्रममन्त्री नै म्यानपावरको मालिक बनाएको आरोप

रविले श्रम तथा रोजगारमन्त्री बनाएका डोलराज अर्याल पनि विवादमा तानिएका छन् । म्यानपावर व्यवसायीलाई स्वार्थ बाझिने मन्त्रालयको मन्त्री बनाएको भन्दै उनीविरुद्ध चौतर्फी आलोचना भएको छ ।

सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा मन्त्री अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो । साइटमा नाम रहेकै आधारमा मन्त्री विवादमा तानिएपछि उक्त साइट नै बन्द गरियो । त्यहाँबाट अर्यालको नाम र तस्बिर हटाइयो, पछि खुलाइयो । मन्त्री भएलगत्तै विवादमा तानिएपछि अर्यालले आफ्नो फेसबुक पेजमार्फत बचाउ गर्दै लामो स्टाटस राखे ।

‘म यो देशको सामान्य नागरिक । अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दा बढि पेशा र व्यवसायमा लड्दै, उठ्दै, आवद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ । म गाउँको सामान्य परिवारको मान्छे । थोरै–थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामुहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे । देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै–थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन’, उनले स्पष्टिकरण दिए ।

लामो समय जापान बसेर फर्किएको, भाषा र सम्पर्कसमेत भएको कारण उनले मुख्यतः जापानको रोजगारी ‘ह्यान्डिल’ गरेका थिए । अर्यालमाथि जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्ने गरेको आरोप छ ।

तर, कामदार लिने जापानको कम्पनीले बढी शुल्क उठाएको आरोपमा जापान सरकारले कामदार लैजान प्रतिबन्ध लगाएपछि सृष्टिले जिट्कोअन्तर्गत कामदार पठाउन बन्द भएको थियो । अर्यालले ‘डिल’ गरेर कामदार पठाउने सृष्टि म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरीसमेत परेको छ । यद्यपी सृष्टिमा आफ्नो संलग्नताको विषयमा मन्त्री अर्यालले अस्वीकार गर्दै आएका छन् ।

‘मन्त्रीका रूपमा काम गर्न जाँदा आफूले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्ये एक हो । मबाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैर कानुनी काम गरेको भए जानकारी गराउनु होला । म यो पदको मर्यादा र गरिमा जान्दछु । समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्’, उनले भने ।

सांसद श्रेष्ठमाथि सहकारीको रकम हिनामिना गरेको आरोप

रास्वपाबाट प्रतिनिधिसभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रूपैयाँ हिनामिना गरेको आरोप लागेको छ । पेशाले डाक्टर रहेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको अध्यक्ष थिए । अध्यक्षबाट हट्दै गर्दा उनले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो ।

उक्त सहकारीले विशेषगरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरूबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको छ । उनले खरिदबिक्रिबाट प्राप्त गरको एक करोड बढी रकमको बिल भरपाइ नदेखिएको नयाँ कार्यसमितिले जानकारी दिएको थियो ।

उक्त सहकारीमा बचत गरेका सेवाग्राहीले आफूले जम्मा गरेको रकम निकाल्न नपाएको गुनासो पोख्दै महानगरपालिकामा उजुरी दिएका थिए। सोही विषयमा महानगरले सहकारी संस्था र पीडित पक्षलाई छलफलका लागि बोलाएको थियो ।

तर आफूमाथि लागेको आरोपको खण्डन गर्दै सांसद श्रेष्ठले राजनीतिमा आउने भएपछि सबै जिम्मेवारी बुझाएर संस्थाबाट अलग भएको दाबी गरेका थिए । पहिले तरलताका कारण सहकारीमा केही समस्या देखिएको भएपनि निर्वतमान र वर्तमान सञ्चालक बसेर अहिले समस्याको समाधान भइसकेको उनले जानकारी दिए । पुस २९ मा बसेको निर्वतमानसहितको सञ्चालक समितिको बैठकले हिसाबकिताब चुक्ता भइसकेको दाबी गरेको छ ।