धनगढीमाईमा कुपोषण जाँच गरिँदै
गोलबजार । सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो ।
पाँच हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए/नभएको जाँच सुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार कुपोषण जाँचमा पाखुराको नाप लिन प्रयोग गरिएको मुवाक टेपमा हुने तीन वटा रङको सहायताबाट कुपोषण भए/नभएको पत्ता लाग्नेछ ।
‘पाखुरा नाप्दा टेपमा भएको हरियो रङ देखिएमा बच्चालाई कुपोषण नभएको, पहेँलो रङ देखिएमा मध्यम अवस्थाको र रातो रङ देखिएमा कडा अवस्थाको कुपोषण हो’, उनले भने । आमासमूहको सहायतामा घरघरमा गएर कुपोषण जाँच गरिने स्वास्थ्यकर्मी दिवस कार्कीले बताए ।
हालसम्म पाँच सय ५० बालबालिकाको जाँच हुँदा १४ जनामा कडा अवस्थाको र २४ जनामा मध्यम अवस्थाको कुपोषण फेला परेका छन् । मध्यम अवस्थाको कुपोषण भएका बालबालिकालाई बेल्जियम सरकारले उपलब्ध गराएको सुपर सिरयलबाट उपचार गरिनेछ ।
साथै कडा अवस्थाको कुपोषण देखा परेका बालबालिकालाई स्थानीय नैनपुर अस्पताल र विष्णुपुर अस्पतालमा उपचार गरिने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया