NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रविमाथि प्रतिस्पर्धीको टिप्पणी : भगवान श्रीकृष्ण नै आएपछि कृष्णभक्तले चुनाव जित्छ र ?

काठमाडौं । नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट रास्वपाका सभापति रवि लामिछाने सांसद पदमुक्त भएपछि चितवन–२ का उनका प्रतिद्वन्द्वीले प्रतिक्रिया दिएका छन् ।

अघिल्ला निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका एमाले सांसद कृष्णभक्त पोखरेलले अन्यमाथि नैतिक प्रश्न उठाउनेले रवि पहिला आफै नैतिकवान बन्नुपर्ने बताए ।

‘फौजदारी अभियोग लागिरहेको मान्छेले गृहमै दाबी गर्नु अस्वभाविक छ । नैतिक मूल्य मान्यता देखाएर उनले ममाथि लागेका अभियोग किनारा नलागेसम्म म संसदीय अभ्यासमा आउँदिन भन्न सक्नुपर्छ’, नेपालवाचसँग उनले भने, ‘आफूलाई नै गृहमन्त्रालय चाहिन्छ भनेर दबाब दिनु र त्यसप्रति आशक्ति देखाउनुमा उहाँको नियतमाथि शंका गर्ने ठाउँ छ ।’

अघिल्लो निर्वाचनमा प्रचण्ड र सुरेन्द्र पाण्डेको भन्दा लोकप्रिय मत ल्याएर विजयी भएपनि योपटक विशेष परिस्थितिले पराजित भएको जिकिर गरे । तत्कालीन सत्ता गठबन्धनसँग एमालेबाट एक्लै चुनावी मैदानमा उत्रिएका उनी रविको उपस्थितिले चुनावी परिणामलाई नै प्रभावित पारेको थियो । रविलाई भगवान मानेर पुजा गर्दा अहिलेको परिस्थिति आएको पोखरेलको भनाइ छ ।

‘यसपालि हावा हुरी आयो । यस्तो परिस्थिति आयो कि भगवान र मान्छेबीचमा चुनाव भयो । भगवान श्रीकृष्ण नै माथिबाट आएपछि कृष्णभक्तले चुनाव जित्छ र ? पशुपतिनाथभन्दा तिमी ठूला हौ भनेर पूजा गरे मान्छेले । अहिले त्यसको परिणामा के भयो सबैले देखे । नागरिकता विवादमा मुछिए उहाँ फेरी राहदानी विवाद निस्किएको छ’, उनले भने ।

उपचुनावमा पार्टीले हाम्रो पार्टीले रविजीलाई नै समर्थन गरेर जिताए पनि फेरी तीन महिनामा पद जाने स्थिति आएको उनको भनाइ छ ।
‘पुराना पार्टीले विधि, विधान र नियम कानुन मानेन भन्ने अनि आफै राज्यको निमय कानुन नमान्ने हुन्छ ? रविमाथि उनले प्रश्न उठाउँदै उनले भने, ‘नागरिकता प्राप्तिका लागि सामान्य प्रक्रिया पुरा गरेर निवेदन नदिने, त्यतिसम्म पनि आफूले ज्ञान नराख्ने अनि दोष अरुलाई दिएर हुन्छ ? उहाँले जे काम गरिराख्नुभएको छ, त्यो उहाँको लागि शोभनीय छैन ।’

राज्यले गरेको छानविन प्रक्रियालाई रविजीले सहजिकरण गर्नुपर्नेभन्दै आफूमाथि लागेको आरोप नटुंगिएसम्म संसदीय प्रक्रियामा जान्न भन्नुपर्ने उनले बताए ।