मन्त्रीको गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’, जरिवाना तिराइयो, नाम भने गोप्य
काठमाडौं । पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरिराखिएको एक मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले ह्विल लक गरिदिएको छ । तर यसरी ह्विल लक गरिएको गाडी कसको थियो भन्नेचाहिँ ट्राफिक प्रहरीले गोप्य राखेको छ ।
काठमाडौंको सुकेधारास्थित सडकमा पार्किङ गरिराखिएको बागमती प्रदेशमा दर्ता ००१झ०१३२ को गाडीलाई ट्राफिक प्रहरीले शुक्रबार साँझ ह्विल लक गरिदिएको हो ।
पार्किङ निषेधित क्षेत्रमा नियम उल्लंघन गरेर पार्किङ गरिराखेको पाइएपछि मन्त्री चढ्ने गाडीलाई ड्युटीमा खटिएका ट्राफिक प्रहरीले शुक्रबार साँझ ह्विल लक गरिदिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नेपालवाच डटकमलाई जानकारी दिए ।
‘तोकिएको ठाउँमा मात्र गाडी पार्किङ गर्नुपर्ने नियम छ । यसविपरीत रोक्न नमिल्ने स्थानमा मन्त्रीको गाडी राखिएकाले ड्युटीमा खटिएका ट्राफिक प्रहरीले ह्विल लक गरिदिएका हुन्,’ उनले भने ।
ह्विल लक गरिएको गाडी कुन मन्त्रीको हो भन्ने विषयचाहिँ ट्राफिक प्रहरीले गोप्य राखेको छ । ट्राफिक प्रहरी प्रवक्ता भट्टले गाडीका चालकले मन्त्री र मन्त्रालयको नाम भन्न इन्कार गरेकाले त्यसबारे नखुलेको दाबी गरे ।
‘नियम उल्लंघन गर्ने मन्त्रालयको गाडीका चालकले नाम बताउन अस्वीकार गरेकाले कुन मन्त्रीको गाडी हो भन्ने खुल्न सकेन,’ प्रवक्ता भट्टले नेपालवाचसँग भने ।
ड्युटीमा खटिएका ट्राफिक प्रहरीसँग कुनै पनि सवारीको कागजात मागेर हेर्ने अधिकार छ । मन्त्रीको प्रतिष्ठानमा आँच पुग्ने या विवादमा पर्ने डरले गाडी कुन मन्त्रालयको हो र कसले चढिरहेका थिए भन्ने विषय गोप्य राखिएको छ ।
यो कुरा ट्राफिक प्रवक्ताको भनाइले नै पुष्टि गर्छ । प्रवक्ता भट्टका अनुसार नियम मिच्ने मन्त्रीको नाम नखुले पनि शुक्रबार साँझ नै रु. एक हजार जरिवाना तिराएर छाडिएको छ । जबकि, जरिवाना तिराउन कागजात आवश्यक पर्छ ।
‘नियम उल्लंघन गर्ने उक्त गाडीलाई रु. एक हजार जरिवाना गरेर शुक्रबार साँझ नै छाडिएको छ,’ प्रवक्ता भट्टले भने ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया