NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रास्वपाको सत्तारोहण : ३२ दिनमा रवि पदमुक्त, २० दिनमा तीन मन्त्रीको सामुहिक राजीनामा

काठमाडौं । सरकारबाट बाहिरिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एक राज्यमन्त्रीसहित तीन जना मन्त्रीले आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् । यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतले पुस १३ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गरेको थियो ।

पुस ११ मा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका रवि मन्त्री भएको ३२ दिनमा पदमुक्त भएका थिए । मन्त्रीपदमुक्त भए लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका उनले पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई अल्टिमेटमसहित दबाब दिएका थिए ।

पटक–पटकको अल्टिमेटमबाट पनि सुनुवाइ नभएपछि पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । माघ ३ मा दोस्रो पटक मन्त्रिमण्डल विस्तारमा सहभागी अर्याल, खनाल र कार्की मन्त्री भएको २० दिनमा सरकारबाट बाहिरिएका हुन् ।