इण्डोनेसियाको पृथकतावादी समूहद्वारा न्युजिल्याण्डका पाइलट अपहरण
माग पूरा नगरे मृत्युदण्ड दिने धम्की

काठमाडौं (एजेन्सी) । पृथकतावादी समूहले न्यूजिल्याण्डका एक पाइलटलाई इण्डोनेसियाबाट अपहरण गरेका छन् । उनीहरूले आफूहरूको माग पूरा नगरे पाइलटलाई मारिदिने धम्की दिएका छन् ।
छिमेकी जिल्ला टिमिकाको खानी सहरबाट सामान आपूर्ति गर्न उडेको सुसी एयरको विमान नियन्त्रणमा लिएर पृथकतावादीले पाइलट र यात्रु नियन्त्रणमा लिएका हुन् ।
विमानमा अकस्मात आगो लागेपछि पाइलट फिलिप मर्टेन्सले नुडगाको पहाडी क्षेत्रमा त्यसलाई अवतरण गराएका थिए । सोही क्रममा उनीसहित पाँच जनालाई अपहरण गरिएको बिबिसीले जनाएको छ ।
अपहरण गरिएकामा एक बालक पनि छन् । पाइलटबोहकलाई रिहा गरिएको अनुमान गरिए पनि आधिकारिक पुष्टि हुन भने बाँकी छ ।
पश्चिम पपुवामा सक्रिय नेसनल लिबरेशन आर्मीले अपहरणको जिम्मा लिएको छ । इन्डोनेसियाली सरकारले आतंकवादी मानेको यो पृथकतावादी समूहले पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्नुपर्ने माग राख्दै आएको छ ।
नेसनल लिबरेशन आर्मीका प्रवक्ता सेबी साम्बोमले इण्डोनेसियाले अडान यथावत् राखेमा तथा पश्चिम पपुवाको स्वतन्त्रताका लागि गरिने वार्ता असफल भएमा पाइलटलाई मृत्युदण्ड दिने धम्की दिएको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाए पनि विमानबाट मात्र जान सकिने भएकाले असुविधा रहेको जनाइएको छ ।
यसैबीच, न्यूजिल्याण्ड सरकारले घटनाबारे आफूलाई जानकारी रहेको र इण्डोनेसियामा रहेका आफ्ना राजदूतले पाइलटको परिवारलाई सहयोग गरिरहेको बताएको छ ।
पपुवा क्षेत्र एक डच उपनिवेश हो जुन दुई भागमा विभाजित छ, पपुवा र पश्चिम पपुवामा।
संयुक्त राष्ट्र संघको निगरानीमा भएको विवादित मतदानपछि यसलाई इन्डोनेसियामा समावेश गरिएको थियो। त्यसयता पृथकतावादी र इन्डोनेसियाली सेनाबीच भिडन्त जारी छ ।
जबकि, पपुवा र पपुवा न्यू गिनी दुई फरक ठाउँहरू छन्। पपुवा न्यू गिनी सन् १९७५ मा अस्ट्रेलियाबाट स्वतन्त्र भएको देश हो।
प्रतिक्रिया